बिचौलिया नवीनराज बस्नेत पक्राउ : न्यायिक सेटिङदेखि सांसद अपहरणसम्म
२४ असोज, काठमाडौँ । लामो समयदेखि राजनीतिक, प्रशासनिक र न्यायिक शक्तिकेन्द्रको आडमा नीतिगत सेटिङ र अस्वाभाविक सम्पत्ति आर्जन गर्दै आएका विवादास्पद ठेकेदार एवं बिचौलिया नवीनराज बस्नेत अन्ततः कानुनको फन्दामा परेका छन्।
१३ वर्ष पुरानो रक्तचन्दन तस्करी प्रकरण र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानको घेरामा रहेका बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार राति काठमाडौँको नक्सालस्थित मेरियट होटलबाट पक्राउ गरेको हो।
अनुसन्धानको राडारमा परेपछि गत चैतमा परिवारसहित जर्मनी फरार भएका बस्नेत नेपाल फर्किएको विशेष सूचनाका आधारमा सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो। उनी तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको संरक्षणमा ठेक्का र न्यायीक सेटिक चलाउने बिचौलिया हुन ।
१३ वर्ष पुरानो त्यो मुद्दा जसले बस्नेतलाई हिरासतमा पुर्यायो
सन् २०१३ मा भएको बहुमूल्य वन्यजन्तु तथा वनस्पति ‘रक्तचन्दन’ तस्करीको एक ठूलो घटनामा नवीनराज बस्नेतको प्रत्यक्ष संलग्नता रहेको आरोप थियो। तर, तत्कालीन समयमा शक्तिकेन्द्रको दबाब र बस्नेतको ‘यकिन ठेगाना नखुलेको’ बहाना बनाउँदै अदालतमा उनको मुद्दा मुल्तवी (पेन्डिङ) मा राखिएको थियो।
हालै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको अस्वाभाविक सम्पत्तिमाथि सूक्ष्म छानबिन गर्ने क्रममा उनको स्थायी ठेगाना र विवरण पत्ता लगाएपछि विभागकै पत्राचारका आधारमा प्रहरीले यो पुरानो फाइल ब्युँताएर उनलाई पक्राउ गरेको हो।
गुन्डागर्दीदेखि सांसद ‘अपहरण’ सम्मको विगत
३७ वर्षीय बस्नेतको विगत सामान्य आर्थिक पृष्ठभूमिबाट सुरु भए पनि उनको सम्बन्ध सधैँ विवाद र शक्तिकेन्द्रसँग जोडिइरह्यो । सुरुवाती दिनमा राजधानीका गुन्डागर्दी पृष्ठभूमि भएका व्यक्तिहरूसँग उठबस रहेका बस्नेत २०७७ सालको राजनीतिक उतारचढावका बेला चर्चामा आएका थिए । तत्कालीन समाजवादी पार्टी फुटाउने खेलअन्तर्गत महोत्तरीबाट सांसद सुरेन्द्र यादवलाई ‘अपहरण’ शैलीमा काठमाडौँ ल्याइएको विवादास्पद घटनामा समेत उनको नाम जोडिएको थियो।
‘न्यायिक सेटिङ’ का मुख्य खेलाडी
बस्नेतको सम्बन्ध न्यायालयका उच्च पदस्थहरूसँग कतिसम्म गहिरो थियो भन्ने कुरा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ प्रभुशमशेर जबरासँगको उनको व्यावसायिक साझेदारीले पुष्टि गर्छ । अदालतका बदनाम बिचौलिया दीपक तिमिल्सिना र पूर्वन्यायाधीश नवराज थपलियासँग मिलेर बस्नेतले ठूला–ठूला व्यापारिक घरानाका विवादित मुद्दाहरूलाई सेटिङमार्फत सुल्झाउने गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ।

ठेकेदारीको आवरण र अख्तियार प्रमुखलाई धम्की
‘क्षमादेवी सप्लायर्स’ मार्फत विमानस्थलका ठूला ठेक्कापट्टा (जस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे निर्माण) हत्याउन सफल बस्नेतको पछिल्लो सम्बन्ध नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग जोडिएको थियो। अधिकारी भ्रष्टाचार मुद्दामा तानिएपछि बस्नेतले ‘बा’ (राजनीतिक उच्च नेतृत्व) मार्फत मुद्दा मिलाइदिने भन्दै करोडौँको डिल गरेका थिए।
तर, सेटिङ असफल भएपछि बस्नेतले एउटा उग्रवादी संगठनको नक्कली लेटरप्याड बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई पदबाट राजीनामा दिन ज्यान मार्ने धम्की दिएका थिए। यति मात्र नभई, उनले एक ‘तान्त्रिक बाबा’ लाई प्रयोग गरी प्रमुख आयुक्त राईको तस्बिर जलाउन र हतियारले घोच्न लगाएर तान्त्रिक विधिबाट क्षति पुर्याउने हर्कत समेत गरेको भिडियो प्रमाण प्रहरीले फेला पारेको छ।
सम्पत्ति शुद्धीकरणमा चर्को छानबिन
सामान्य पृष्ठभूमिबाट छोटो समयमै अथाहा सम्पत्ति जोडेका बस्नेत, उनका परिवार र साझेदारका नाममा काठमाडौँ उपत्यकाका विभिन्न प्राइम लोकेसनमा रहेका करोडौँका जग्गाजमिन र कम्पनीहरूको बैंक खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति जफतको प्रक्रिया अगाडि बढाएको छ।
विगत १३ वर्षदेखि कानुनलाई चुनौती दिँदै आएका यी हाइप्रोफाइल बिचौलियाको पक्राउले नेपाली राजनीतिक र प्रशासनिक वृत्तमा खैलाबैला मच्चाएको छ भने सीआईबीले उनीमाथि संगठित अपराध र प्राचीन स्मारक/वन्यजन्तु तस्करी ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
प्रकाशित मिति : October 10, 2026 at 10:02 am





