नेप्सेमा सामान्य सुधार, ३ अर्ब ९३ करोडको कारोबार
२२ असोज, काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक २.३१ अंक बढेर २५७४.६५ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको १ करोड १२ लाख ३३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबार भएका कम्पनीमध्ये १४० कम्पनीको सेयर मूल्य बढेको छ। त्यस्तै १२७ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य यथावत रहेको छ। कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा यस दिन सकारात्मक सर्किट लागेको छ। आरबिबि म्युचुअल फण्ड २ को इकाईमूल्य यस दिन सर्वाधिक ८.०७ प्रतिशत घटेको छ।

यस दिन घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएकाे छ। सो कम्पनीको यस दिन २६ करोड ६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमाल दोलखा हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने पिपुल्स हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ। १३ उपसमूहमध्ये यस दिन आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : October 8, 2026 at 3:21 pm






