१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

३० करोड थान दुई रूपैयाँका सिक्का छाप्दै राष्ट्र बैंक

१९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँ दरका सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार एक सूचना जारी गर्दै सिक्का डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीसम्बन्धी कामका लागि बोलपत्र माग गरेको हो।

 यसअघि हिजो (आइतबार) मात्रै राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान सिक्का टकमरी तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बजारमा साना दरका खुद्रा मुद्रा तथा सिक्काको अभाव हुन नदिन र मौज्दात सन्तुलन कायम राख्न केन्द्रीय बैंकले लगातार दुई दिनमा कुल ७० करोड थान सिक्का छाप्ने प्रक्रिया अघि बढाएको हो ।

राष्ट्र बैंकद्वारा प्रकाशित सूचना अनुसार २ रुपैयाँ दरका ३० करोड थान सिक्का आपूर्ति प्रक्रिया ‘एकल चरण, दुई खाम’ विधिमार्फत अगाडि बढाइनेछ। यसअन्तर्गत इच्छुक कम्पनीहरूले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्नेछ ।

इच्छुक कम्पनीहरूले आगामी ३ नोभेम्बर २०२६ सम्म २०,००० रूपैयाँ (वा १३१ अमेरिकी डलर / ११५ युरो) गैर-फिर्तायोग्य दस्तुर तिरेर बोलपत्र कागजात खरिद गर्न सक्नेछन् ।  बोलपत्रमा सहभागी हुन कम्पनीहरूले कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर (वा सो बराबरको विदेशी मुद्रा/नेपाली रुपैयाँ) बिड सेक्युरिटी (जमानत रकम) राख्नुपर्नेछ ।

प्रकाशित मिति : October 5, 2026 at 9:18 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/