अब आउने अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस्ः सांसद लामिछाने
१६ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका केवल आफ्नो निर्वाचन क्षेत्रका लागि बजेट माग्ने काममा मात्र सीमित हुन नहुने बताएका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांसदहरूले राष्ट्रिय ढुकुटी भर्ने नीति निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि बजेट माग्नु स्वाभाविक भए पनि राष्ट्रिय अर्थतन्त्रको समग्र अवस्थाबारे गम्भीर हुन आवश्यक रहेको उनले औँल्याए।भकारी रित्तो राखेर निरन्तर अन्न मागिरहे एक दिन भकारी नै रित्तिने चेतावनी दिँदै सांसद लामिछानेले नीति निर्माण तहमा बस्नेहरूको मुख्य जिम्मेवारी राष्ट्रिय ढुकुटी जोगाउने र भर्ने हुनुपर्ने स्पष्ट पारे।

उनले भने, ‘हामीले माग्ने त्यो बजेट आउने ढुकुटी कसरी भरिन्छ ? हामीले भकारी रित्तो राखेर त्यसैबाट अन्न मागिरह्यौं भने एक दिन भारी रितिन्छ । त्यसैले अब हाम्रो भूमिका माग्ने मात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने पनि हो ।’
उनले आगामी हिउँदे अधिवेशनलाई केवल विधेयक पारित गर्ने परम्परागत प्रक्रियामा मात्र सीमित नराख्न सरकार र संसद्लाई आग्रह गरे। ‘अब आउने अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस्,’ उनले भनेका छन्, ‘आउँदो अधिवेशन उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, लगानी आर्कषित गर्ने र निर्यात बढाउने, राज्यको राजस्व बढाउने नीति निर्माण गर्ने अधिवेशन बनोस् ।’
प्रकाशित मिति : October 2, 2026 at 1:12 pm






