नेपाली मुद्राको आफ्नै युनिकोड सिम्बल बनाउन रास्वपा महामन्त्री आचार्यको माग
१५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले नेपाली मुद्राका लागि छुट्टै मौलिक ‘युनिकोड सिम्बल’ आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै आचार्यले विश्वका शक्तिशाली मुद्राहरू जस्तै डलर, युरो, पाउन्ड र जापानी येनको आफ्नै विशिष्ट संकेत रहेको स्मरण गराउँदै नेपाली मुद्राको पनि आफ्नै स्वाभिमान झल्किने सिम्बोल हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘विश्वका शक्तिशाली मुद्राहरूको आफ्नै सिम्बल छ। तर, हामी अझै पनि नेपाली मुद्रामा रुपैयाँको एक्रोनिम वा अंग्रेजीमा नेपाली रुपिजको एनपीआर प्रयोग गरिरहेका छौँ। यो ग्लोबल फिनटेक युगमा हाम्रो आफ्नो मौलिक युनिकोड सिम्बल भयो भने धेरै कुरामा सहज हुन्छ।’

डिजिटल अर्थतन्त्र र फिनटेक (फिनटेक) को वर्तमान युगमा नेपाली रुपैयाँको आफ्नै विशिष्ट पहिचान हुनुपर्नेमा उनले जोड दिए । देवनागरी लिपीको मौलिकता र नेपालको सार्वभौम राष्ट्रिय पहिचानलाई एकैसाथ प्रतिविम्बित गर्ने गरी नयाँ चिह्न ल्याउनुपर्ने उनको भनाइ छ । ‘देवनागरीको मौलिकता र हाम्रो राष्ट्रको स्वाभिमान झल्किने एउटा मुद्राको सिम्बल बनाउनका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।
प्रकाशित मिति : October 1, 2026 at 12:48 pm






