१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

पूर्व प्रधानन्यायाधीश पक्राउ र आयोगका प्रतिनिधिलाई भेट्न नदिनुको कारणबारे कांग्रेसले माग्यो सरकारसँग जवाफ

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा पक्राउ गर्नुको कारण सरकारसँग माग गरेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस सांसद नीनुकुमारी कर्णले पूर्व प्रधानन्यायाधीश जबरालाई असोज १० गते मध्यरातमा सुरक्षा चुनौती देखाउँदै नियन्त्रणमा लिइएको घटनाले कानुनी राज्यको अवधारणामाथि गम्भीर प्रश्न उठाएको बताइन्।

उनले भनिन्, ‘सुरक्षा चुनौती भए राज्यले सुरक्षा दिनुपर्छ, तर नागरिकको स्वतन्त्रता नियन्त्रण गरिन्छ भने त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया सार्वजनिक हुनुपर्छ।’ प्रहरी नियन्त्रणमा रहेका पूर्व प्रधानन्यायाधीश जबरासँग भेट गर्न राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत अनुमति नदिइएको विषयमा आपत्ति जनाउँदै उनले यो कार्यले लोकतन्त्रको उपहास गरेको आरोप लगाइन्।

नेपाल बार एशोसिएसनले समेत यस विषयमा ध्यानाकर्षण गराएको भन्दै उनले यस्तो संवेदनशील विषयमा सरकारको आधिकारिक धारणा माग गरिन्। उनले भनिन्, ‘कसैको विगतको पद, राजनीतिक धारणा, सार्वजनिक छवि वा विवादसँग हामी सहमत वा असहमत हुन सक्छौँ। तर संविधानले प्रदान गरेको अधिकारको प्रयोग व्यक्ति हेरेर फरक हुनु हुँदैन। देश व्यक्ति विशेषको हुकुम वा सनकमा होइन, विधि, पद्धति र संविधान अनुसार चल्नुपर्छ। कसैले कसुर गरेको भए निष्पक्ष छानबिन र कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्छ। राज्य संयन्त्रको दुरुपयोग स्वीकार्य हुन सक्दैन।’

प्रकाशित मिति : September 30, 2026 at 2:21 pm