११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

मछिन्द्रनरसिंह प्याकुरेल : द्वन्द्वको काउलेदेखि विपद्को बेत्रावतीसम्म

-जनकराज ढुंगाना

कुनै व्यक्तिको सार्वजनिक जीवनको मूल्याङ्कन केवल उसले सम्हालेको पद, राजनीतिक पहुँच, आर्थिक हैसियत वा सार्वजनिक चर्चाबाट मात्र गर्न सकिँदैन । उसले कठिन समयमा कस्तो भूमिका निर्वाह गर्‍यो, संकटमा परेका मानिसको छेउमा कति पटक उभियो, आफ्नो सुविधाभन्दा अरूको आवश्यकता कति पटक अगाडि राख्यो भन्ने कुराले पनि उसको जीवनको परिचय दिन्छ। मछिन्द्र नरसिंह प्याकुरेलसँग जोडिएको मेरो करिब दुई दशकभन्दा लामो अनुभवलाई फर्केर हेर्दा मैले उनको जीवनमा बारम्बार देखेको एउटा विशेषता यही हो, परिस्थिति जस्तोसुकै भए पनि जनताको समस्याबाट आफूलाई टाढा नराख्ने स्वभाव।

मछिन्द्रसँग मेरो पहिलो भेट मुलुक माओवादी सशस्त्र द्वन्द्वको अत्यन्त कठिन समयबाट गुज्रिरहेको बेला भएको थियो । नुवाकोटको तत्कालीन मनकामना गाउँ विकास समितिअन्तर्गत पर्ने काउले बजारमा भएको त्यो भेट अहिले पनि मेरो स्मृतिमा स्पष्ट छ । त्यो समय गाउँबस्तीमा त्रास थियो । राज्यका कर्मचारीका लागि दुर्गम क्षेत्रमा काम गर्नु सामान्य प्रशासनिक जिम्मेवारी मात्र थिएन, त्यससँग व्यक्तिगत सुरक्षाको जोखिम पनि जोडिएको थियो। धेरै ठाउँमा सरकारी गतिविधि सहज थिएनन्, आवतजावत कठिन थियो र बन्दुकको त्रासले जनजीवनलाई गहिरो रूपमा प्रभावित पारेको थियो।

त्यही समयमा मछिन्द्र राज्यको कर्मचारीका रूपमा विभिन्न गाउँ विकास समितिमा सचिवको जिम्मेवारी निर्वाह गरिरहेका थिए । काउले, भाल्चे, किन्ताङ, लगायत नुवाकोटका दुर्गम बस्तीमा पुगेर नागरिकका प्रशासनिक काम गर्ने उनको दैनिकी थियो। आजको स्थानीय सरकारको संरचना, सडक, सञ्चार र प्रविधिसँग तुलना गरेर त्यो समयलाई बुझ्न सकिँदैन। एउटा कागज बनाउन, सिफारिस लिन वा सरकारी सेवा लिन नागरिकलाई लामो दूरी पार गर्नुपर्थ्यो। यस्तो अवस्थामा गाउँमै पुगेर काम गर्ने सरकारी कर्मचारीको भूमिका स्थानीय बासिन्दाका लागि निकै महत्वपूर्ण हुन्थ्यो।

द्वन्द्वको प्रभाव सरकारी कार्यालय वा राजनीतिक क्षेत्रमै सीमित रहेन। मछिन्द्रको आफ्नै परिवार पनि त्यसको प्रत्यक्ष मारमा पर्‍यो। असुरक्षाका कारण उनका बुबाआमासहित परिवार काउले बजारबाट विस्थापित भएर त्रिशूली क्षेत्रमा आउन बाध्य भएको थियो। आफ्नो घर, परिवेश र वर्षौँको सामाजिक जीवन छोडेर अर्को ठाउँमा सर्नु कुनै पनि परिवारका लागि सामान्य घटना होइन। तर परिवार स्वयं विस्थापनको पीडाबाट गुज्रिरहेको अवस्थामा पनि उनले सार्वजनिक जिम्मेवारी छाडेर बसेनन्।

देशको राजनीतिक व्यवस्था परिवर्तन हुँदै गयो। पुरानो संरचना क्रमशः बदलियो। स्थानीय प्रशासन र राज्यका निकायहरू नयाँ ढाँचातर्फ जान थाले। मछिन्द्रले पनि विभिन्न प्रशासनिक जिम्मेवारी सम्हाल्दै आफ्नो सेवायात्रा अघि बढाए। पछि जिल्ला प्रशासन कार्यालयमा शाखा अधिकृतका रूपमा समेत उनले काम गरे। सरकारी सेवाको अनुभवले उनलाई गाउँको समस्या, प्रशासनको कार्यशैली र राज्य तथा नागरिकबीचको सम्बन्धलाई नजिकबाट बुझ्ने अवसर दियो।

सरकारी जिम्मेवारीसँगै उनले समयको आवश्यकता बुझेर व्यवसाय तथा प्रविधिको क्षेत्रमा पनि काम गरे। नुवाकोटमा कम्प्युटर शिक्षा आजजस्तो सामान्य नभएको समयमा उनले कम्प्युटर प्रशिक्षण केन्द्र सञ्चालन गरेका थिए। त्यो समय कम्प्युटर आफैँमा धेरैका लागि नयाँ प्रविधि थियो। म स्वयं पनि त्यहीँ कम्प्युटर सिक्नेहरूमध्ये एक हुँ। कम्प्युटर कसरी चलाउने, आधारभूत रूपमा कसरी प्रयोग गर्ने भन्ने कुरा मलाई आफैँ बसेर सिकाउने व्यक्ति मछिन्द्र नरसिंह प्याकुरेल नै हुन्।

मेरो लागि त्यो स्मृति केवल कम्प्युटर सिकेको घटनासँग सीमित छैन। जीवनमा कुनै व्यक्तिसँगको सम्बन्ध कहिलेकाहीँ ठूला राजनीतिक वा सार्वजनिक घटनाबाट भन्दा पनि यस्तै सामान्य देखिने व्यक्तिगत अनुभवबाट गहिरो बन्छ। एउटा व्यक्तिले आफ्नो समय दिएर अर्को व्यक्तिलाई नयाँ सीप सिकाउँदा त्यसको प्रभाव वर्षौँसम्म रहन सक्छ। मछिन्द्रसँगको मेरो सम्बन्धमा त्यो अध्याय आज पनि विशेष छ।

त्यो समय सञ्चारको अवस्था पनि अहिलेभन्दा बिल्कुल फरक थियो। आज देश वा विदेशमा रहेका आफन्तसँग मोबाइलबाट तुरुन्त सम्पर्क गर्न सकिन्छ। तर त्यतिबेला गाउँका परिवारका लागि विदेश वा टाढा रहेका आफ्ना मानिससँग कुरा गर्नु सहज थिएन। टेलिफोन सेवा सीमित थियो, मोबाइल फोन सर्वसाधारणको पहुँचमा थिएन र एउटा फोन गर्नकै लागि बजारसम्म आउनुपर्ने अवस्था थियो।

त्यही आवश्यकता बुझेर मछिन्द्रले नुवाकोटको ढुंगे बजारमा सर्वसाधारणका लागि टेलिफोन सेवा सञ्चालन गरे । आजको पुस्ताका लागि त्यो सानो कुरा जस्तो लाग्न सक्छ। तर त्यतिबेला परदेश गएको छोरा र घरमा रहेकी आमाबीच आवाज जोड्ने, कामका लागि टाढा गएको श्रीमान् र परिवारबीच समाचार पुर्‍याउने, आकस्मिक सन्देश अर्को ठाउँसम्म पठाउने माध्यमका रूपमा त्यस्तो सार्वजनिक टेलिफोन सेवाको आफ्नै महत्व थियो। व्यवसायसँगै नागरिकको तत्कालीन सञ्चार आवश्यकता सम्बोधन गर्ने त्यो प्रयासलाई म उनको सामाजिक दृष्टिकोणको प्रारम्भिक उदाहरणका रूपमा सम्झन्छु।

सरकारी जागिर, सामाजिक प्रतिष्ठा र व्यवसाय हुँदाहुँदै पनि उनको जीवन क्रमशः राजनीतिक र सामाजिक गतिविधितर्फ बढी मोडियो। नुवाकोटको राजनीतिमा विभिन्न कालखण्डमा उनी सक्रिय रहे। नेपाली कांग्रेससँग जोडिएको राजनीतिक गतिविधिमा, विशेषगरी अर्जुन नरसिंह केसीसँग सम्बन्धित राजनीतिक धारमा, विभिन्न निर्वाचनका बेला उनी सक्रिय युवा कार्यकर्ताका रूपमा देखिए। चुनावी अभियान, संगठन र कार्यकर्ता परिचालनका क्रममा उनले धेरै वर्ष र ऊर्जा खर्च गरे।

राजनीति भनेको केवल चुनाव जित्ने वा पद प्राप्त गर्ने प्रक्रिया मात्र होइन। त्यसमा आशा, निराशा, सम्बन्ध, संघर्ष र धेरैपटक व्यक्तिगत त्याग पनि जोडिएको हुन्छ। लामो समय राजनीतिक गतिविधिमा लागेका मछिन्द्रले पनि अनेक आश्वासन सुने। धेरैलाई स्थापित गर्न भूमिका खेले। विभिन्न चुनावमा अरूको सफलताका लागि समय र श्रम खर्च गरे। तर मैले उनलाई आफ्नो लागि पद माग्दै, अवसरको सूची लिएर नेताको ढोका चहार्दै वा “मलाई यो चाहियो, मलाई त्यो चाहियो” भन्दै हिँडेको देखेको छैन।

राजनीतिक यात्रामा देखिएका विसंगति र लगातारका आश्वासनबाट उनी निराश पनि भए । अन्ततः उनले आफ्नो सम्मानित सरकारी सेवाबाटै राजीनामा दिए । सुरक्षित जागिर छाड्ने निर्णय सामान्य थिएन। सरकारी सेवा, व्यवसाय र स्थापित जीवन हुँदाहुँदै अर्को अनिश्चित बाटो रोज्नु सजिलो हुँदैन। तर जागिरबाट बाहिरिएपछि पनि उनी समाजबाट टाढा भएनन्। बरु उनको सामाजिक सक्रियता अझ स्पष्ट हुँदै गयो।

उनको समाजसेवाको एउटा घटना मेरो आफ्नै आँखाले देखेको छु, जुन करिब दस वर्षअघिको हो । अस्पतालमा हामीले एउटा गम्भीर अवस्थामा रहेको नाबालक बालकलाई भेटेका थियौँ । त्यो बालकको अवस्था कठिन थियो । बिरामीलाई देखेर दुःख व्यक्त गर्नु एउटा कुरा हो, तर उसको उपचार र जीवन बचाउन आफ्नो दिनरात लगाउनु अर्कै कुरा हो।

मछिन्द्रले त्यो बालकको उपचारका लागि सक्रिय भूमिका खेले । करिब दस दिन अस्पतालमै बसेर उपचार प्रक्रियामा साथ दिए। आवश्यक समन्वय गरे। समय दिए। एउटा अपरिचित बच्चालाई आफ्नो जिम्मेवारी ठानेर अस्पतालमा दिन बिताउने त्यो घटना मेरो स्मृतिमा गहिरो गरी बसेको छ। आज त्यो सानो बालक ठूलो भइसकेको छ । समयले बालकलाई जवान बनायो, तर त्यो कठिन समयमा उसको जीवनका लागि गरिएको प्रयासको स्मृति मेटिएको छैन।

सामाजिक सेवा उनको लागि कुनै एउटा अभियान वा एउटा फोटोमा सीमित रहेन । समयसँगै देशले विभिन्न विपत्ति भोग्यो र प्रत्येक कठिन घडीमा उनी कुनै न कुनै रूपमा सक्रिय देखिए। विनाशकारी भूकम्पका बेला राहत तथा सहयोगका काममा संलग्न भए । कोरोना महामारीका समयमा समाज भय र अनिश्चिततामा थियो। मानिस एकअर्काको नजिक जान डराउने अवस्था थियो। त्यस समयमा पनि आवश्यकतामा परेका परिवार, बिरामी र समस्यामा रहेका नागरिकका लागि सहयोग जुटाउने प्रयासमा उनी सक्रिय रहे।

रगत अभावमा अस्पतालमा छटपटाइरहेको बिरामीको पीडा उनको सामाजिक अभियानको महत्वपूर्ण क्षेत्रमध्ये एक बन्यो । नुवाकोट र अन्य ठाउँमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, तत्काल रगत आवश्यक परेका बिरामीका लागि दाता खोज्ने, परिचित र साथीभाइलाई सम्पर्क गरेर रगतको व्यवस्था मिलाउने काममा उनी लामो समयदेखि लागेका छन्। कहिलेकाहीँ बिरामीको आफन्तभन्दा पहिले रगतको खोजीमा उनी फोन गरिरहेका देखिन्छन्।

रगत केवल एउटा सहयोग होइन। केही अवस्थामा समयमै रगत पाउनु र नपाउनु जीवन र मृत्युबीचको अन्तर हुन सक्छ। यही कारण अस्पतालमा रगतका लागि दौडिने मानिसको कामको मूल्य कागजी प्रमाण वा राजनीतिक पदले मापन गर्न सकिँदैन। उनले वर्षौँदेखि यस्तो काम गरिरहेको देखेको छु।

महिला, बालबालिका, वृद्धवृद्धा, विपन्न परिवार वा उपचार खर्च जुटाउन नसक्ने बिरामीको समस्या उनीसम्म पुग्दा सकेसम्म कुनै उपाय खोज्ने उनको स्वभाव छ। कहिले सामाजिक सञ्जालमार्फत अभियान चलाउँछन्, कहिले फोनमार्फत सहयोगीहरू जोड्छन्, कहिले आर्थिक सहयोग जुटाउने प्रयास गर्छन्, कहिले स्वयं सम्बन्धित ठाउँमा पुग्छन्। सबै समस्या समाधान गर्न कुनै एक व्यक्तिका लागि सम्भव हुँदैन, तर समस्यालाई बेवास्ता नगर्ने उनको प्रयास निरन्तर देखिन्छ।

प्राकृतिक विपद् होस्, सडक दुर्घटना होस् वा कुनै परिवारमाथि अचानक आएको संकट, नुवाकोटलाई जब–जब गाह्रो परेको छ, मछिन्द्र कुनै न कुनै भूमिकामा देखा परेका छन्। अरूले अभियान सुरु गरून् भनेर पर्खिनेभन्दा आफूले सम्भव भएको ठाउँबाट सुरुआत गर्ने उनको शैली छ। मानिस जोड्ने, सहयोग माग्ने, सार्वजनिक आवाज उठाउने र सम्बन्धित निकायको ध्यान आकर्षित गर्ने काममा उनी सक्रिय रहँदै आएका छन्।

उनको शैली सबैलाई मन पर्नुपर्छ भन्ने छैन। कहिलेकाहीँ उनी चर्को बोल्छन्। लगातार एउटै विषय उठाइरहन्छन्। कतिपयलाई उनको एकोहोरोपन असहज पनि लाग्न सक्छ। कसैले उनको आलोचना गर्न सक्छ, कसैले उनलाई सनकी भन्न सक्छ, कसैले अझ कठोर शब्द प्रयोग गर्न सक्छ। सार्वजनिक जीवनमा यस्तो प्रतिक्रिया असामान्य होइन।

तर एउटा प्रश्न भने गर्नुपर्छ, उनी किन कराइरहेका छन्?

धेरैपटक त्यो आवाज आफ्ना लागि होइन। कसैलाई रगत चाहिएको हुन्छ। कसैको उपचार रोकिएको हुन्छ। दुर्घटनामा परेको परिवार समस्यामा हुन्छ। विपद् प्रभावित बस्तीले राहत पाएको हुँदैन। कुनै असहाय मानिसको आवाज सरकारी निकायसम्म पुगेको हुँदैन। यस्ता अवस्थामा उनी लगातार बोलिरहेका हुन्छन्। त्यसैले उनको शैलीमाथि असहमति हुन सक्छ, तर उनले उठाइरहेको समस्यालाई त्यसैका कारण बेवास्ता गर्न मिल्दैन।

पछिल्लो भदौ १० को विनाशकारी विपत्तिले उनको आफ्नै जीवनमा पनि ठूलो चोट पुर्‍यायो । बेत्रावती क्षेत्रमा रहेको घरखेत क्षणभरमै बगरमा परिणत भयो । परिवार स्वयं प्रभावित बन्यो । अझ उनका बुबा पाँच दिनसम्म सम्पर्कविहीन र हे। आफ्नो बुबा कहाँ हुनुहुन्छ भन्ने थाहा नभएको अवस्था कुनै पनि सन्तानका लागि अत्यन्त पीडादायी हुन्छ।

त्यस्तो अवस्थामा मानिसको पहिलो प्राथमिकता आफ्नो परिवार हुनु स्वाभाविक हो । तर मछिन्द्र आफ्नो व्यक्तिगत पीडामै सीमित भएनन् । परिवारको अवस्था बुझ्ने प्रयाससँगै उनले अन्य पीडितको उद्धार, राहत र सहयोगमा पनि समय दिए । आफ्नो घर बग्दा अरूको घरका लागि राहत खोज्नु, आफ्नै बुबा सम्पर्कबिहीन हुँदा अरू पीडितको अवस्थाबारे चासो राख्नु सामान्य मनोबलको कुरा होइन।

उनको जीवनको यही पक्ष मलाई सबैभन्दा बढी छुन्छ। सजिलो समयमा सेवा गर्नु सहज हुन्छ। सबै कुरा ठीक भएको बेला अर्को व्यक्तिलाई केही सहयोग गर्नु पनि सम्भव हुन्छ। तर आफ्नो जीवन आफैँ संकटमा परेको बेला अर्को पीडितको हात समाउन सक्नु कठिन हुन्छ। भदौ १० पछिको घटनाक्रमले मछिन्द्रको सामाजिक स्वभावको यही पक्ष देखायो।

उनको बाहिरी जीवन पनि धेरै हदसम्म साधारण छ। राम्रो कपडाको प्रदर्शन, महँगो जीवनशैलीको फुइँ, राजनीतिक पहुँचको घमण्ड वा सम्पत्तिको प्रदर्शनमा उनी खासै रुचि राख्दैनन्। कहिलेकाहीँ सामान्य चप्पल, साधारण कपडा र झुस्स दाह्रीमा सडकमा दौडिरहेको भेटिन्छन्। पहिलो नजरमा हेर्नेले अनेक अनुमान गर्न सक्छ।

तर उनलाई लामो समयदेखि चिन्ने मानिसका लागि त्यो दृश्य नौलो होइन। चाहेको भए उनले फरक जीवन रोज्न सक्थे। सरकारी सेवाको अनुभव थियो, व्यवसाय थियो, राजनीतिक सम्बन्ध थियो र सामाजिक सम्पर्क पनि थियो। सुविधासम्पन्न जीवनको सम्भावना थिएन भन्न मिल्दैन। तर उनले आफ्नो समयको ठूलो हिस्सा राजनीतिक र सामाजिक काममा खर्च गरे।

धेरै मानिस उनको साथबाट राजनीतिक वा सामाजिक रूपमा अगाडि बढे। कतिपयले अवसर पाए, कतिपय पदमा पुगे, कतिपय आफ्नो क्षेत्रमा स्थापित भए। तर सबै सम्बन्ध समयसँगै उस्तै रहँदैनन्। राजनीतिक यात्रामा मित्रता, दूरी र नयाँ समीकरण स्वाभाविक रूपमा बन्छन्। आज कतिपयले उनको योगदान सम्झेलान्, कतिपयले नसम्झेलान्।

मछिन्द्रको अर्को विशेषता भनेको उनले आफूलाई अवसर नपाएको कारण समाजसँग सम्बन्ध तोडेको देखिँदैन । राजनीतिक पद नपाउँदा सामाजिक सेवा छाडेनन्। कुनै नेतासँग असन्तुष्टि हुँदा बिरामीका लागि रगत खोज्न छाडेनन्। कुनै निर्वाचनमा अपेक्षित स्थान नपाउँदा विपद् पीडितसम्म पुग्न रोकिएनन्।

आज पनि उनी सक्रिय छन्। तर उनको सक्रियता राजनीतिक नियुक्ति वा पदको मागमा भन्दा जनताका समस्या र सामाजिक अभियानमा बढी देखिन्छ। उनी कसैसँग “मलाई यो जिम्मेवारी चाहियो” वा “मलाई त्यहाँ पुर्‍याइदिनुस्” भनेर हिँडेको मैले देखेको छैन। आज पनि कुनै बिरामीको फोन आयो भने त्यतातिर दौडिने, विपद् भयो भने प्रभावित क्षेत्रमा सहयोग जुटाउने, दुर्घटना भयो भने आवश्यक समन्वय गर्ने उनका गतिविधि जारी छन्।

यसको अर्थ उनी कुनै त्रुटिरहित व्यक्ति हुन् भन्ने होइन। सार्वजनिक जीवनमा रहेका हरेक मानिसका कमजोरी हुन्छन्। निर्णयमा गल्ती हुन सक्छ। राजनीतिक विचारमा असहमति हुन सक्छ। व्यवहार र शैली सबैलाई मन नपर्न सक्छ। मछिन्द्र पनि आलोचनाभन्दा माथि छैनन्।

तर निष्पक्ष मूल्याङ्कन भनेको केवल कमजोरी गन्नु पनि होइन। व्यक्तिले जीवनको ठूलो समय कहाँ खर्च गर्‍यो, समाजलाई के दियो, कठिन अवस्थामा कसरी उपस्थित भयो र आफ्नो व्यक्तिगत लाभभन्दा पर गएर कति मानिसका लागि काम गर्‍यो भन्ने कुरा पनि हेर्नुपर्छ।

मछिन्द्रसँगको मेरो सम्बन्ध कुनै एक राजनीतिक घटनाबाट सुरु भएको होइन। काउले बजारमा द्वन्द्वको त्रासबीच भएको पहिलो भेटदेखि आजसम्म हामीले देश र समाजमा ठूलो परिवर्तन देखेका छौँ। श्री ५ को सरकारको समयदेखि गणतन्त्रसम्म आइपुग्यौँ। गाउँ विकास समिति स्थानीय तहमा परिवर्तन भए। टेलिफोनका लागि बजार धाउनुपर्ने समयबाट भिडियो कलको युगमा आइपुग्यौँ। कम्प्युटर सिक्न प्रशिक्षण केन्द्र खोज्ने अवस्थाबाट मोबाइलमै संसार चलाउने अवस्थामा पुग्यौँ।

राजनीतिक अनुहारहरू फेरिए। सरकार फेरिए। प्रशासनिक संरचना फेरियो। हामी स्वयं पनि उमेर र अनुभवले फेरियौँ। तर मछिन्द्रको जीवनमा मैले एउटा कुरा धेरै हदसम्म उस्तै देखेको छु, समस्यामा परेको मानिसको खबर आयो भने केही न केही गर्ने बेचैनी।

काउलेको द्वन्द्वग्रस्त भूगोलमा सरकारी कर्मचारी भएर हिँडेको युवक, ढुंगे बजारमा मानिसलाई टेलिफोनमार्फत आफ्ना प्रियजनसँग जोड्ने व्यवसायी, युवाहरूलाई कम्प्युटर सिकाउने प्रशिक्षक, जिल्ला प्रशासनमा जिम्मेवारी सम्हाल्ने कर्मचारी, राजनीतिक अभियानमा सक्रिय कार्यकर्ता, अस्पतालमा बालकको उपचारका लागि दिनरात बस्ने सहयोगी, रगत खोज्दै फोन गर्ने अभियन्ता र विपद्को समयमा प्रभावित क्षेत्रतर्फ दौडिने सामाजिक व्यक्तित्व, यी सबै एउटै जीवनका फरक अध्याय हुन्।

यी अध्यायहरूलाई जोड्दा एउटा साझा सूत्र भेटिन्छ, मानिससँगको सम्बन्ध।

राजनीतिमा उनको भूमिका कति ठूलो थियो भन्ने विषयमा फरक मत हुन सक्छ। कसैले उनलाई प्रभावशाली कार्यकर्ता मान्ला, कसैले सामान्य राजनीतिक पात्र। तर सामाजिक सेवाको क्षेत्रमा उनले गरेको कामको मूल्याङ्कन पदसँग तुलना गरेर गर्न आवश्यक छैन। कहिलेकाहीँ कुनै सरकारी जिम्मेवारी नभएको व्यक्तिले संकटमा गरेको एउटा फोन पनि प्रभावित परिवारका लागि ठूलो राहत बन्न सक्छ।

मान्छेको इतिहास सधैँ ठूला पुस्तकमा मात्र लेखिँदैन। अस्पतालमा जीवन पाएको बालकको स्मृतिमा पनि इतिहास हुन्छ। समयमै रगत पाएको बिरामीको परिवारसँग पनि एउटा इतिहास हुन्छ। विपद्मा एक बोरा चामल पाएको परिवारको चुलोमा पनि इतिहास हुन्छ। विस्थापित परिवारलाई सहयोग पुर्‍याउन दौडिएको मानिसको पाइला पनि समाजको इतिहासकै हिस्सा हुन्।

मछिन्द्र नरसिंह प्याकुरेलको कथा पनि त्यस्तै साना र ठूला घटनाहरूको संयोजन हो।

उनलाई सबैले मन पराउनुपर्छ भन्ने छैन। सबैले उनको शैली स्वीकार गर्नुपर्छ भन्ने पनि छैन। लोकतान्त्रिक समाजमा आलोचना र असहमति स्वाभाविक हुन्छ। तर आलोचना गर्दा व्यक्तिको सम्पूर्ण यात्रालाई पनि सम्झनुपर्छ। कसैको राजनीतिक पक्षसँग असहमति हुनु र उसले गरेको मानवीय कामलाई अस्वीकार गर्नु एउटै कुरा होइन।

आज उनी कुनै ठूलो राजनीतिक अवसरको प्रतीक्षामा बसेका छैनन्। जनताको सेवा गर्न कुर्सी अनिवार्य हुन्छ भन्ने पनि उनले आफ्नो व्यवहारबाट देखाएका छैनन्। कुनै औपचारिक जिम्मेवारीबिना पनि समाजका लागि काम गर्न सकिन्छ भन्ने कुरा उनको लामो यात्राले देखाउँछ।

सायद त्यसैले मछिन्द्र नरसिंह प्याकुरेललाई बुझ्न उनका राजनीतिक परिचयपत्रभन्दा उनका पाइला पछ्याउनुपर्छ। ती पाइला कहिले काउलेको पहाडमा भेटिन्छन्, कहिले जिल्ला प्रशासनको कार्यालयमा, कहिले कम्प्युटर सिकाउने कक्षामा, कहिले ढुंगे बजारको टेलिफोन केन्द्रमा, कहिले अस्पतालको करिडोरमा, कहिले रक्तदान कार्यक्रममा र कहिले बाढीले बगर बनाएको बेत्रावतीमा।

जुनसुकै कालखण्ड आयो, उनको यात्रा सहज मात्र रहेन। द्वन्द्व आयो, परिवार विस्थापित भयो। राजनीतिक आशा र निराशा आए। जागिर छुट्यो। जीवनले अनेक मोड लियो। प्राकृतिक विपत्तिले आफ्नै घरखेतलाई समेत बगर बनायो। तर यी सबैबीच पनि समाजसँगको उनको सम्बन्ध टुटेन।

आज कसैले उनको प्रशंसा गर्ला, कसैले आलोचना। कसैले उनलाई बुझ्ला, कसैले गलत बुझ्ला। सार्वजनिक जीवनमा यी सबै कुरा समयसँगै चलिरहन्छन्। तर एउटा तथ्यलाई समयले अलग्गै राख्छ, कुनै मानिसले आफ्नो जीवनको कति समय अरूका लागि खर्च गर्‍यो।

मैले चिनेको मछिन्द्र नरसिंह प्याकुरेलको कथा यही प्रश्नको वरिपरि घुम्छ।

द्वन्द्वको काउलेदेखि विपद्को बेत्रावतीसम्म, सरकारी कार्यालयदेखि अस्पतालको बेडसम्म, कम्प्युटर प्रशिक्षण केन्द्रदेखि रक्तदान अभियानसम्म उनको यात्रा एउटै पद वा परिचयमा अटाउँदैन। उनीसँग असहमत हुने ठाउँ हुन सक्छन्, आलोचना गर्ने विषय पनि हुन सक्छन्, तर कठिन समयमा जनताको छेउमा उभिने उनको निरन्तर प्रयासलाई बेवास्ता गरेर उनको जीवनको कथा पूर्ण हुँदैन।

पद आउँछन्, जान्छन्। राजनीतिक समीकरण बदलिन्छन्। मानिसको हैसियत र परिचय पनि समयसँगै फेरिन्छ। तर कठिन घडीमा कसैले समातेको हात, बचाउन प्रयास गरेको जीवन र आँसुका बीच दिएको साथ लामो समयसम्म सम्झनामा रहन्छ। मछिन्द्र नरसिंह प्याकुरेलको सार्वजनिक जीवनको सबैभन्दा बलियो परिचय सायद यही हो, उनले पदको प्रतीक्षा गरेर होइन, आफूले सकेको ठाउँबाट जनताको सेवामा लागिरहने बाटो रोजे।

प्रकाशित मिति : September 27, 2026 at 4:23 pm