निप्पोन फर्मास्युटिकलले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
९ असोज, काठमाडौं । मोरङको विराटनगरमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँटसम्बन्धी निर्देशिकाबमोजिम नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ।
विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको निप्पोन फर्मास्युटिकलले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको जनाएको छ। कम्पनीले ट्याब्लेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप र पेनिसिलिनलगायत औषधि उत्पादन गर्दै आएको छ।

कम्पनीको औपचारिक दर्ता सन् २००६ मा भएको थियो भने उद्योग स्थापना सन् २०१७ मा गरिएको कम्पनीले जनाएको छ। स्थापना भएको पाँच वर्षपछि सन् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको कम्पनीले जनाएको छ।
व्यावसायिक उत्पादन सुरु गरेको चार वर्षको अवधिमा विभिन्न थेराप्युटिक सेगमेन्टका ६० भन्दा बढी उत्पादन बजारमा ल्याउन सफल भएको कम्पनीको दाबी छ। ‘सबैका लागि सु–स्वास्थ्य’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको कम्पनीले नेपालमा आवश्यक औषधिको उत्पादन बढाउँदै औषधिमा आत्मनिर्भर बन्न सहयोग गर्ने उद्देश्य राखेको जनाएको छ।
आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा निप्पोन फर्मास्युटिकलका प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
प्रकाशित मिति : September 25, 2026 at 4:29 pm




