भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र होइनः सांसद बुढाथोकी
७ असोज, काठमाडौं । सत्तारुढ रास्वपा सांसद डा. कृष्णहरि बुढाथोकीले डिजिटल अर्थतन्त्रको विकाससँगै वित्तीय कारोबारलाई सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभामा प्रस्तुत ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि भएको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
उक्त विधेयक समयसान्दर्भिक र कोशेढुङ्गा सावित हुने दाबी उनले गरे। सांसद डा. बुढाथोकीले अर्थमन्त्रीद्वारा प्रस्तुत सो विधेयकले भुक्तानी तथा फर्छ्यौट प्रणालीमा विद्यमान व्यावहारिक कठिनाइ र कानुनी अस्पष्टतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे। उनले विद्यमान ऐनलाई समयसापेक्ष बनाउँदै बैंक तथा वित्तीय संस्थाहरूको कार्यक्षमता अभिवृद्धि गर्न विधेयकले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र नभई बचतलाई उत्पादनशील लगानी र रोजगारी सिर्जनासँग जोड्ने वित्तीय पूर्वाधार भएको धारणा उनले राखे। ‘सुरक्षित, सहज र भरपर्दो भुक्तानी प्रणालीले मात्र औपचारिक वित्तीय प्रणालीप्रतिको विश्वास बढाउँछ र कृषि, ऊर्जा तथा पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्छ,’ उनले भने ।
प्रकाशित मिति : September 23, 2026 at 4:01 pm




