५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

ओएनएफ ओसिनियाको प्रथम अधिवेशन सेप्टेम्बर २६ मा हुँदै, एमाले महासचिव पोखरेलले सम्बोधन गर्ने

सिड्नी (अष्ट्रेलिया) — प्रवासी नेपाली मञ्च (ओएनएफ) ओसिनिया महादेश कमिटीको प्रथम ऐतिहासिक अधिवेशन आगामी सेप्टेम्बर २६, २०२६ (शनिबार) आयोजना हुने भएको छ।

“एकता, सहयोगिता र समृद्धिका लागि – प्रवासमा नेपाली, मातृभूमिको लागि” भन्ने मूल नाराका साथ भर्चुअल माध्यम मार्फत महादेश कमिटीको अधिवेशन आयोजना गर्न लागिएको हो।

अधिवेशनमा लुम्बिनी प्रदेशका संस्थापक मुख्य मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी भई विशेष सम्बोधन गर्ने ओएनएफ ओशियाना सचिव सन्तोष दहालले बताउनुभयो।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा ओसिनिया इन्चार्ज सञ्जय थापा र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष रमेश पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ।

नेपाल, अष्ट्रेलिया र न्युजिल्याण्डको समय फरक-फरक हुने भएकाले सहभागीहरूको सहजताका लागि आयोजकले खुल्ला सत्रको समय तालिका सार्वजनिक गरेको छ:

  • नेपाली समय: बिहान ११:०० बजे
  • सिड्नी समय (अष्ट्रेलिया): दिउँसो ३:०० बजे
  • न्युजिल्याण्ड समय: दिउँसो ५:०० बजे

‘Zoom Virtual Platform’ (Meeting ID: 914 3607 7702, Passcode: 571709) मार्फत सञ्चालन हुने उक्त प्रथम अधिवेशनमा ओसिनिया क्षेत्रका सम्पूर्ण प्रवासी नेपालीहरूलाई उपस्थितिका लागि ओसिनिया महादेश कमिटीले हार्दिक निमन्त्रणा गरेको छ।

ओसिनिया क्षेत्र (अष्ट्रेलिया, न्युजिल्याण्ड लगायत) मा छरिएर रहेका नेपाली समुदाय, बुद्धिजीवी, व्यवसायी तथा सामाजिक अभियन्ताहरूलाई एकीकृत गर्दै मातृभूमिको समृद्धि र प्रवासी नेपालीहरूको हकहितमा काम गर्नु अधिवेशनको मुख्य उद्देश्य रहेको ओएनएफ ओशियाना सचिव दहालले बताउनु भयो ।

अधिवेशनको बन्द सत्र भने प्रतिनिधि तथा अतिथिहरु बिचमा सिड्नी समय १२ बजेबाट हुने जनाएको छ । अधिवेशनले २०२१ मा ओशियाना महादेश कमिटी गठन भए देखी देखि हाल सम्मको मञ्चको गतिबिधीको समिक्षा गर्दै आगामी दिनका लागि आवश्यक योजना निर्माण गर्नुका साथै तिन वर्षका लागि नयाँ नेतृत्वको चयन गर्ने ओएनएफ ओशियाना प्रचार प्रमुख अशिम कोइरालाले बताउनु भयो 

प्रमुख कोइरालाले अधिवेशन सफताका लागि विभिन्न समितिहरु गठन गरिएको र तिनले कार्यहरु अगाडि बढाएको बताउनुभयो ।

उहाले अधिवेशनमा अष्ट्रेलियाका आठ वटै स्टेट तथा न्युजिल्यान्डबाट १५० भन्दा बढि प्रतिनिधि तथा पर्यवेक्षकहरु उपस्थिति हुने बताउनुभयो। 

प्रकाशित मिति : September 21, 2026 at 8:03 pm