३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

एडिलेडमा तीज उत्सव भव्य रूपमा सम्पन्न

एडिलेड (अष्ट्रेलिया) — एडिलेड नेपाली समाजको आयोजनामा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज-२०२६ उल्लासमय वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ।

स्थानिय क्लोभेली पार्कस्थित कोसग्रोभ हल (Cosgrove Hall, Clovelly Park) मा आयोजित उक्त कार्यक्रममा एक हजार भन्दा बढिको उपस्थिति रहेको थियो।

कार्यक्रममा धार्मिक विधिअनुसार जग्गे स्थापना गरी पण्डित सम्भव सुवेदीद्वारा सामूहिक पूजा-आराधना गराइएको थियो। सहभागी व्रतालु महिलाहरूले अष्ट्रेलियामै तीजकै दिन भगवान् शिवको पूजा गर्न पाएकोमा खुसी व्यक्त गरे।

समाजको भ्रातृ संस्था ‘एडिलेड नेपाली विद्यालय’ का नानीबाबुहरूले प्रस्तुत गरेको तीज गीत तथा नृत्य कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। यसले नयाँ पुस्तामा नेपाली भाषा र संस्कृतिप्रतिको रुचि उजागर गरेको छ।

महिला तथा युवाहरूले परम्परागत तीजका गीत, नृत्य र विविध मनोरञ्जनात्मक प्रस्तुतिमार्फत नेपाली कला र संस्कृतिको पुस्तान्तरणमा योगदान पुर्‍याएका छन्।

साउथ अष्ट्रेलिया सरकारको सहयोग समेतमा आयोजित उक्त कार्यक्रममा नेपालमा हालै आएको बाढीपीडितको सहयोगार्थ राफल चिठ्ठा समेत सञ्चालन गरिएको थियो।

राफल चिठ्ठाबाट सङ्कलित रकममा समाजका तर्फबाट थप रकम थप गरी नेपालको ‘प्रधानमन्त्री राहत कोष’ मा पठाइने सचिव प्रदीप निरौलाले जानकारी दिनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै एडिलेड नेपाली समाजका अध्यक्ष बालगोपाल उपाध्यायले प्रवासमा बसोबास गर्ने नेपाली समुदायबिच आपसी सद्भाव, भाइचारा र सांस्कृतिक निरन्तरताका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा सौजन्यकर्ता व्यवसायी संस्थाहरुलाई संस्थाका पुर्व अध्यक्षहरु सुरेन्द्र रेग्मी, श्याम दहाल, देवराज कडेल, वर्तमान अध्यक्ष बालगोपाल उपाध्याय, उपाध्यक्ष लक्ष्मी सापकोटाले मायाको चिनो प्रदान गर्नु भएको थियो । भने राफलका बिजेताहरुलाई समाजको सल्लाहकार तथा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्काले पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रमको संचालन सचिव निरौलनले गर्नु भएको थियो ।

समाजले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, स्वयंसेवक, मुख्य प्रायोजन फ्रेस चुल्हो नेपाली रेष्टुरेन्ट सहित प्रायोजकहरु , साउथ अष्ट्रेलिया सरकार तथा मिडियाकर्मीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : September 16, 2026 at 6:25 pm