३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

कांग्रेस फुट्यो : देउवाले घोषणा गरे १५औँ महाधिवेशनको मिति

३० भदौ, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पदमुक्त गर्दै गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको विशेष महाधिवेशनलाई फेरि ‘अवैधानिक’ भन्दै अस्वीकार गरेका छन् । कांग्रेस विभाजनको संकेतसहित देउवाले आफू १४औँ महाधिवेशनबाट निर्वाचित सभापति भएको दाबी गर्दै मंसिर २१, २२ र २३ गते १५औँ महाधिवेशन सम्पन्न गरेर मात्र नेतृत्व हस्तान्तरण गर्ने अडान दोहोर्‍याएका छन्।

भदौ ३० गते जारी गरेको अपिलमार्फत देउवाले विशेष महाधिवेशन पक्षधर समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन कांग्रेसका नेता तथा कार्यकर्तालाई सार्वजनिक आह्वान गरेका छन्। विशेष महाधिवेशनबाट आफूलाई हटाएर गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेपछि आएको देउवाको यो अभिव्यक्तिले कांग्रेसभित्रको नेतृत्व विवाद थप पेचिलो बन्ने संकेत गरेको छ।

देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन गरिएको आरोप लगाएका छन्। उनले विशेष महाधिवेशन पक्षधर समूहले एकपक्षीय ढंगले अघि बढेर ‘कथित १५औँ महाधिवेशन’ को कार्यतालिका सार्वजनिक गरेको भन्दै त्यसलाई मान्यता नदिन आग्रह गरेका छन्।

उनले भनेका छन्, विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी तथा संवैधानिक सिद्धान्तविपरीत हो।

देउवाले सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको विषयलाई समेत आफ्नो दाबीको आधार बनाएका छन्। अदालतमा वैधताको प्रश्न विचाराधीन रहेकै अवस्थामा सोही विवादित प्रक्रियाबाट महाधिवेशन अघि बढाउनु राजनीतिक, नैतिक, कानुनी र संवैधानिक दृष्टिले उचित नहुने उनको तर्क छ।

देउवाले विशेष महाधिवेशन पक्षधर नेतृत्वले आफू र अनुभवी नेतृत्वबाट निर्वाचन जित्न नसकिने भन्दै गरेको प्रचारलाई पनि कटाक्ष गरेका छन्। उनका अनुसार विशेष महाधिवेशनपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले नै विशेष महाधिवेशन पक्षधर नेतृत्वको लोकप्रियताको दाबी असत्य सावित गरिसकेको छ।

‘अवैधानिक विशेष महाधिवेशन किन गरियो ?’ भन्ने प्रश्नको जवाफ अझै नेता–कार्यकर्ता र जनताले पाउन नसकेको देउवाको भनाइ छ। उनले निर्वाचन परिणामबाट समेत पाठ नसिक्नु कांग्रेस निर्माणको नभई कांग्रेसलाई कमजोर बनाउने प्रवृत्तिको परिचायक भएको आरोप लगाएका छन्।

देउवाले आफूलाई कुनै पदको लोभ नरहेको स्पष्ट पार्दै पार्टीको नेतृत्वबाट आफू पछि हट्न तयार रहेको संकेत पनि दिएका छन्। तर आफूले १४औँ महाधिवेशनबाट पाएको वैधानिक जिम्मेवारी पूरा नगरी नेतृत्व हस्तान्तरण गर्न नसकिने उनको दाबी छ।

‘१४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो,’ देउवाले भनेका छन्।

विधान र संविधानअनुसार महाधिवेशनका लागि पर्याप्त समय बाँकी हुँदाहुँदै हतारमा विशेष महाधिवेशन पक्षधरले पार्टीलाई विभाजन र कमजोर बनाउने गरी अधिवेशन अघि बढाए आफू ‘मूकदर्शक भएर बस्न नसक्ने’ चेतावनीसमेत उनले दिएका छन्।

विशेष महाधिवेशनबाट सभापतिबाट हटाइएका देउवाको पछिल्लो अपिलले गगन थापा नेतृत्वको नयाँ कांग्रेस कार्यसमितिलाई स्वीकार नगर्ने उनको अडान औपचारिक रूपमा सार्वजनिक गरेको छ। देउवाले गगन नेतृत्वको नयाँ संरचनालाई कांग्रेसको वैधानिक उत्तराधिकारीका रूपमा स्वीकार गर्नुको सट्टा आफूले घोषणा गरेको मंसिर २१–२३ को १५औँ महाधिवेशनलाई नै आधिकारिक महाधिवेशनका रूपमा अघि बढाउने संकेत गरेका छन्।

उनले पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई वर्तमान मतभेद अन्त्य गर्दै मंसिर २१, २२ र २३ गते हुने भनिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन्। यससँगै कांग्रेसभित्र अब गगन थापा नेतृत्वको नयाँ कार्यसमिति कि देउवाले दाबी गरेको १५औँ महाधिवेशन—कुनलाई वैधानिक कांग्रेस मान्ने भन्ने प्रश्न थप निर्णायक बन्ने देखिएको छ।

बाढीको राष्ट्रिय विपत्तिबाट सुरु गरिएको अपिलको ठूलो हिस्सा भने देउवाले अन्ततः कांग्रेसभित्रको नेतृत्व विवादमा केन्द्रित गरेका छन्। उनले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने आह्वान गर्दै त्यसपछि कांग्रेसको आन्तरिक विवादमा आफ्नो राजनीतिक धारणा सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति : September 15, 2026 at 5:10 pm