संसदमा उठ्यो अस्पतालको आइसियुमा अन्तर्वार्ता लिएको विषय
३० भदौ, काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता गरेको विषय संसद्मा उठेको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले अस्पतालको आइसियुमा अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधि सभाको बैठकमा प्रश्न उठाएकी हुन् ।
आईसीयू अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीहरूको उपचारका लागि छुट्याइएको विषय कक्ष हो । यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनियता र संक्रमण नियन्त्रणलाई प्राथमिकता दिइन्छ । बिरामीको परिवारलाई पनि निश्चित समयमा मात्रै भेट्न दिइन्छ ।

सांसद बाँस्कोटाले आइसियुमा अन्तर्वार्ता रेकर्ड गर्दा ‘दुई बिरामी मात्र थिए कि अरू बिरामी पनि थिए?’ भन्दै प्रश्न गरेकी हुन्। यदि अन्तर्वार्ता लिदाँ अरू पनि बिरामी त्यहाँ भएको भए त्यसले ‘जीवनलाई नै रिस्कमा’ राखेको उनले बताइन्। उनले भनिन्, ‘ आइसीयू अत्यन्त संवेदनशील अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको हुन्छ। आइसीयूमा बिरामीको स्वास्थ्य, गोपनीयता र सङ्क्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइनुपर्छ। आइसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिनु वा त्यसका लागि स्वीकृति दिनु कति नैतिक अभ्यास हो?’
यो आफैँमा गम्भीर विषय बनेको उनले स्पष्ट पारिन्। मानिसको जीवनभन्दा ठुलो कुनै कन्टेन्ट, अन्तर्वार्ता वा भ्युज हुन नसक्ने भन्दै सांसद बाँस्कोटाले यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइन्। बाँस्कोटाले भनिन्, ‘मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट, कुनै इन्टरभ्यू, भ्यजु हुँदैन। मानव जीवनलाई टिआरपीमा तौलिने काम बन्द हुनैपर्छ।’
प्रकाशित मिति : September 15, 2026 at 2:04 pm


