३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

पाँच आफन्त गुमाएका प्रकाशलाई अर्को पीडा : पहिचान भएको छोराको शवसमेत पाएनन्

३० भदौ, काठमाडौँ । छोराको शव भेटियो, बुबाले पहिचान गरे, डीएनएका लागि रगत पनि दिए । तर १५ दिन बितिसक्दा पनि त्रिुशुलीका प्रकाश जोशीले छोराको शव पाएका छैनन् । भोटेकोशी बाढीले पाँच आफन्त गुमाएका जोशी अहिले आफ्नै छोराको अन्तिम संस्कार गर्न पाउने अधिकारका लागि तड्पिएर सरकारको ढोका कुरिरहेका छन् । छोराको शव चितवनमा छ, बुबा काठमाडौंमा छन् बीचमा छ सरकारी प्रक्रिया, जसले शोकमा डुबेका जोशीलाई झन् पीडा दिइरहेको छ ।

भोटेकोशी बाढीमा पाँच आफन्त गुमाएका जोशी बाढी गएको भोलिपल्ट अर्थात् भदौ ११ गते बिहानैदेखि आफ्ना मान्छेको सास र लाश खोज्दै विभिन्न ठाउँ पुगे । खोज्दै जाँदा उनले जेठो छोराको शव चितवनमा भेट्टाए । तर पहिचान गरिसकेको छोराको शवसमेत प्रहरीले उनलाई दिएन ।

छोराको शव पहिचानका लागि जोशीले प्रहरी अस्पताल पुगेर डीएनए परीक्षणका लागि रगत दिएको पनि १५ दिन नाघिसकेको छ । तर अहिलेसम्म सरकारले शव नदिएको उनको गुनासो छ । ‘मृतक छोराको डीएनए भइसकेको छ । मेरो पनि डीएनएका लागि रगत दिएको दुई साता भइसक्यो । यति समय बित्दा पनि सरकारले शव दिन आनाकानी गरिरहेको छ,’ जोशीले भने ।

उनका अनुसार ‘डीएनए रिपोर्ट आएपछि चेकजाँच गरेर दिन्छौँ’ भन्दै डेढ सातादेखि आफूलाई झुलाइँदै आएको छ । आफैंले पहिचान गरिसकेको छोराको शव पाउनसमेत राज्यको प्रक्रियामा अल्झिनुपर्दा उनको पीडा झन् गहिरिएको छ ।

‘पाँच जना गुमाएर म आफैँ पीडामा छु । कसैको अन्तिम संस्कार गर्न पाएको छैन,’ जोशीले भने, ‘कम्तीमा मेरो रगत र मेरो छोरोको शव म आफैंले पहिचान गरिसकेको छु । बीएचएफ–६५ कोड राखिएको रहेछ । मलाई शव दिएर अन्तिम संस्कार गर्न दिनुस् भनेको हुँ ।’

उनका अनुसार डीएनए परीक्षण गर्ने सम्बन्धित अधिकारीले सबै शवको एकैपटक रिपोर्ट निकाल्ने र त्यसका लागि तीन–चार महिनासम्म लाग्न सक्ने बताएका छन् । ‘अब म जस्तो पीडामा भएको मान्छेले कसरी त्यत्रो समय कुरौं ?’ जोशीले प्रश्न गरेका छन् ।

जोशीले आफ्नो छोराको शरीरको कुनै एउटा अंग भेटेर दाबी गरेका होइनन् । ‘पुरै शरीरसहित अनुहार स्पष्ट पहिचान खुल्ने अवस्थामा छ । उसले लगाएको स्कुलको टाईसमेत छ,’ उनले दैनिकीका सम्पादक माधवप्रसाद तिवारीलाई लेखेको पत्रमा भनेका छन । आफूले शव पहिचान गरिसकेको अवस्थामा पनि डीएनए रिपोर्टकै नाममा शव रोकिराख्नुले आफ्नो पीडा थपिएको उनको गुनासो छ ।

‘राज्यसँग मेरो कुनै आशा छैन । मलाई राहत र सहयोग पनि चाहिँदैन । कम्तीमा मेरा पाँच जना परिवारमध्ये भेटिएको मेरो छोरा मलाई दिनुस्,’ जोशीको आग्रह छ । उनका अनुसार राज्यले स्पष्ट पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउने वा डीएनए अनिवार्य भए आफूजस्ता पीडितका लागि छुट्टै शीघ्र परीक्षणको व्यवस्था गर्नुपर्छ ।

अहिले प्रकाश काठमाडौंमा छन् । चितवनमा आफ्ना छोराको शव छ भन्ने थाहा हुँदाहुँदै पनि कहिले पाउने निश्चित छैन । ‘आफ्नो बाबु चितवनमा हुँदै गर्दा यता उसको र परिवारको सद्गत गर्न पनि मनले मान्दैन । पर्खेर बसौं, कुन बेला पाउने हो निश्चित छैन,’ उनले लेखेका छन् । सर्वस्व गुमाएका एक बुबाको राज्यसँग यतिबेला एउटै प्रश्न छ पहिचान भइसकेको आफ्नै छोराको शव पाउन पनि के ३–४ महिना कुर्नुपर्ने हो ?

जोशीका अनुसार उनले आफ्नो छोराको शव रहेको जानकारी पाएपछि पटक–पटक सम्बन्धित निकायसँग शव बुझाइदिन आग्रह गरेका छन् । तर हरेकपटक प्रक्रिया र डीएनए रिपोर्टको कुरा गर्दै आफूलाई पन्छाइएको उनको दुखेसो छ ।

बाढीले दुई छोरा, श्रीमती, आमा तथा भाइ–बुहारीसहित घर र व्यवसायसमेत गुमाएका जोशी अहिले काठमाडौंमा डेरा लिएर बसेका छन् । आफ्नै परिवार गुमाएर विक्षिप्त अवस्थामा रहेका उनी बाँकी आफन्तको जिम्मेवारीसमेत निर्वाह गरिरहेका छन् ।

‘मेरो पीडामा सरकारले झन् नुनचुक छर्किने काम गर्‍यो,’ जोशीले भने । आफ्नै छोराको शव पहिचान भइसकेको अवस्थामा पनि अन्तिम संस्कार गर्न नपाउनु उनको मात्र होइन, विपत्तिमा आफन्त गुमाएका परिवारको संवेदनामाथिकै प्रश्न बनेको छ ।

भोटेकोशी बाढीले सर्वस्व गुमाएका जोशीको राज्यसँग ठूलो माग छैन पहिचान भइसकेको छोराको शव बुझाइदिनु र विधिपूर्वक अन्तिम संस्कार गर्न दिनु । तर यही सामान्य मानवीय अधिकारका लागि पनि उनी १५ दिनदेखि सरकारी ढोकामा कुरिरहेका छन् ।

जोशीले भूकम्पका बेला चार ट्रक राहत सामग्री वितरण गरेका थिए । कोरोना महामारीमा औषधि, मास्क र सेनिटाइजर वितरणदेखि त्रिशुली बजारको स्थानीय कला–संस्कृति संरक्षणसम्म आफूले सकेको योगदान गरेको उनी बताउँछन् । ‘आफ्नो टोल, बस्ती र बजार बनाउनुपर्छ, कला–संस्कृति बचाउनुपर्छ भनेर बुद्धि, विवेक र सामर्थ्यले भ्याएसम्म योगदान गरेँ, आफ्नो सम्पूर्ण पुँजी पनि त्यहीँ लगाए“ तर प्रकृतिले आज मलाई नै शून्य बनाइदियो,’ उनले पत्रमा लेखेका छन् ।

नुवाकोट स्थयी घर भएका व्यवसायी विनोराज श्रेष्ठले पनि पहिचान भैसकेको शव समेत नदिएर प्रकाशको पीडा माथि सरकारले झन पीडा दिएको बताए । उनले आफूले पनि चिनेजानेको ठाउँमा हार गुहार गरिरहेको तर पनि प्रकाशले छोराको पहिचान भएको शव समेत पाउन नसकेको दुखेसो व्यक्त गरे ।

(नोटः यसअघि परिवारको सदस्य पाँच हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । –सम्पादक)

प्रकाशित मिति : September 15, 2026 at 10:12 am