ग्यासको लागि मन्त्री परिवर्तन गर्दै जाने हो भने मन्त्रीको लाइन ग्यासको भन्दा लामो हुन्छः आशिका तामाङ
२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले ग्यास अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउँदै सरकारभन्दा ठूलो बिचौलिया हो ? भन्दै प्रश्न गरेकी छिन् ।
उनले जनताले भोकभोकै बस्ने दिनका लागि रास्वपालाई दुई तिहाई मत नदिएको बताएकी छन्। ‘साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्यो। जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्न पर्यो,’ उनले भनिन्।

ग्यासकै कारण मन्त्री परिपवर्तन गरिएको भन्दै तामाङले त्यसमा पनि प्रश्न उठाएकी छन्। ‘महिनै पिच्छे ग्यासको लागि मात्रै मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ,’ उनले भनिन्।
सांसद तामाङले ग्यास भएर पनि पसलेले नबेचेको भनेर आफूलाई दैनिक फोन आउने गरेको बताइन्।’ यो त ल्हासामा सुन छ, कान मेरो बुच्चै छ जस्तो भएन र ? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त ? यसको जबाफ सदनको सबैभन्दा नजिकको व्यक्तित्व सभामुखज्यूबाट नै पाउनेछु भनेर आस गरेको छु,’ उनले भनिन्।
प्रकाशित मिति : September 11, 2026 at 2:25 pm


