२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे कार्यक्रम ल्याउँदै सरकार

२६ भदाै, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई चलायमान बनाउन सरकारले आगामी सोमबारभित्र १० देखि १२ बुँदे सुधार कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले पुँजी बजारमा देखिएको शिथिलता हटाउन सुधारका कार्यक्रम ल्याउन लागिएको जानकारी दिएका हुन् ।

विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बजारमा समस्या देखिएको उल्लेख गर्दै उनले अब अवस्थालाई थप बिग्रन नदिने गरी सरकारले नीतिगत सुधार अघि बढाउने स्पष्ट पारे। ‘विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बिग्रिएको अवस्थालाई थप बिग्रन दिइने छैन,’ उनले भने, ‘लगानीकर्ताको विश्वास बढाउन र बजारलाई चलायमान बनाउन सरकारले आवश्यक सुधारका ठोस कार्यक्रमहरू अघि बढाउँदै छ।’

dainiki.com

उनले पुँजी बजारलाई केवल दैनिक सेयर मूल्यको उतारचढावका आधारमा मात्रै हेर्न नहुने धारणा पनि राखे । उनका अनुसार दीर्घकालीन रूपमा पुँजी बजार उत्पादनशील क्षेत्रमा लगानीयोग्य स्रोत परिचालन गर्ने प्रभावकारी माध्यम बन्नुपर्छ । ‘पुँजी बजारलाई केवल दैनिक सेयर प्राइस मुभमेन्टको लेन्सबाट मात्रै हेर्नु पर्याप्त छैन,’ उनले भने, ‘दीर्घकालमा क्यापिटल मार्केट लङ टर्म प्रोडक्टिभ फाइनान्स मोबिलाइज गर्ने प्ल्याटफर्म बन्नुपर्छ ।’

उनले निष्क्रिय पूँजीलाई उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रतर्फ आकर्षित गर्ने वातावरण निर्माण गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताए। यसैगरी, अर्थमन्त्रीले सहकारी क्षेत्रको संकटले स्थानीय अर्थतन्त्रमा गम्भीर असर पारेको बताए। सहकारीको समस्या समाधान नभएसम्म स्थानीय आर्थिक गतिविधि सहज नहुने उनको भनाइ थियो।

प्रकाशित मिति : September 11, 2026 at 12:44 pm