भदौ १० को त्यो कालो दिन र अविस्मरणीय पीडा : २४ घण्टाकाे मेरो अनुभव
-अनुजकुमार श्रेष्ठ
प्रकृतिको क्रूर रूपले मानिसलाई कतिसम्म असहाय बनाउन सक्छ भन्ने त्यो भदौ १० गतेकाे दिनभन्दा अर्को प्रमाण सायद चाहिदैन होला। त्रिशूली नदीमा आएको भीषण बाढीले जनजीवन तहसनहस पारेको खबर म पोखरामा हुँदा समयमै थाहा पाउन सकिन। क्लबहरूको पदस्थापन कार्यक्रम र DLLI समापनको थकानपछि हामी बिहान ८ बजेतिर भुजुङ खोलातर्फ खाना खान जाँदै थियौं। बाटामा चिया नास्ता गर्दा करिब ९:३० बजेको थियो। त्यहाँ इन्टरनेट र मोबाइल नेटवर्कको ठूलो समस्या थियो, तैपनि नुवाकोटबाट हाम्रै क्लबका उपाध्यक्ष दामोदर नेपाल भाइको म्यासेन्जर कल आयो। उनले हतास मुद्रामा भने, “दाइ, त्रिशूलीमा भयङ्कर बाढी आयो, बजार सबै बगायो, पुलहरू सबै बगाउँदै छ, धादिङका साथीहरूलाई सचेत गराउनुपर्यो।”

त्यो एक वाक्यले म थरथर कामे, मनमा छटपटी र बेचैनीको आँधी चले, तर फोन लाग्दै लाग्दैनथ्यो, लागिहाले पनि आवाज काटिन्थ्यो। मोबाइल नेटवर्कले काम गर्न छोडिसकेको थियो। त्रिशूली, बेत्रावती, देविघाटजस्ता ठाउँहरूमा मेरा थुप्रै आफन्त र साथीभाइहरु थिए। उनीहरूको अवस्था के भयो होला भन्ने चिन्ताले म भित्रभित्रै जलेँ। साथीहरूको करकापमा अलिकति खाना त खाएँ, तर घाँटीबाट तलै गएन। दिमाग पूर्ण रूपमा सुन्ने भइसकेको थियो।

त्यहीबेला हाम्रा क्लबका पूर्वअध्यक्ष केशव मिश्र भाइको फोन आयो। उनले बाढीपीडितहरूलाई तत्काल खाना खुवाउने तयारी भइरहेको बताउँदै, “सुरु गरेपछि नियमित गर्नुपर्छ, पछि गाह्रो हुने हो कि?” भनेर गहिरो चिन्ता व्यक्त गरे। परिस्थिति असाध्यै गम्भीर थियो । मैले कुनै हिचकिचाहटबिना भनेँ, “क्लबहरूबाट सहयोग आउँछ, डिष्ट्रिक्टले सहयोग गर्छ, केही भएन भने म जग्गा बेचेर भए पनि तिरौँला, अहिलेलाई जसरी पनि खाना खुवाउन सुरु गर्नुस्।”
लगत्तै अम्बिका पौडेल बहिनीको पनि फोन आयो, कुरा उही— खाना खुवाउने कसरी नियमित गर्ने भन्ने नै थियो। मैले फेरि दृढताका साथ भनेँ, “एक किलोमिटर यता बाढी आएको भए हामी सबै सुकुम्बासी हुने थियौँ, अब किन आत्तिने ? खेत बेचेर भए पनि खाना खुवाउनुपर्छ।” मेरो यो कुराकानी फर्स्ट भिडिजी शैलेन्द्र मोहन भट्टराई दाजुले नजिकैबाट सुनिरहनुभएको रहेछ। उहाँले मलाई नआत्तिन सान्त्वना दिँदै हामी सबै सहयोगमा जुट्छौँ भनी ठूलो ढाडस दिनुभयो। याे विचमा क्लबका अध्यक्ष सुवास श्रेष्ठ, जाेन चियरपर्सन युवराज अमात्य लगायत धेरै जनाकाे फाेन आयो कुरा त्यही थियाे।

खाना खाएपछि हामी पोखरा त फर्कियौँ, तर मेरा पाइलाहरू पोखरामा भए पनि मन र मष्तिष्क भने नुवाकोटमै दौडिरहेको थियो। छिटोभन्दा छिटो नुवाकोट कसरी पुग्ने भन्ने नै मेरो ध्ययाउन्न बन्यो। उडानहरूको तालिका हेरेँ, सबै फ्लाइटहरू प्याक देखिन्थे। डिष्ट्रिक्टका कोर्डिनेटर केदार दवाडी दाजु र सेकेन्ड भिडिजी विष्णुप्रसाद भण्डारी दाजुलाई पनि फोन गरेर टिकटको प्रबन्ध मिलाइदिन आग्रह गरेँ, तर कतैबाट पनि सम्भव देखिएन।
टिभी र मोबाइलमा आउने समाचार झन् कहाली लाग्दो थियो— रसुवाको भोटेकोशी नदीमा बाढी आएर केरुङ नाका, स्याफ्रुबेसी, मैलुङ क्षेत्र तथा नुवाकोटको बेत्रावती, तुप्चे, त्रिशूली, ढुङ्गे, विदुरको सिमचौर र देवीघाट बजारै बगाएको दृश्य देखाइरहेको थियो। आफू खेलेर हुर्केको ठाउँ, संगालेका स्मृतिहरू नदीको एकै झट्कामा बिलाएको त्यो दृश्य मेरो आँखाले हेर्नै सकिनँ, मन भित्रैदेखि छियाछिया भयो।

त्यो छटपटीको स्थितिमा हाम्रो पुरेत बाजेका छोरा गणेश लोहनीदाजुलाई फोन गरे। उहाँ बुद्ध एयरमा लामो समयदेखि कार्यरत हुनुहुन्थ्यो। नुवाकोटको अवस्था बारे बताए। दाजुलाई हतास हुँदै भनेँ, म पाेखरा छु “दाजु, मलाई जसरी पनि नुवाकोट पुग्नुछ, एउटा टिकट मिलाइदिनुहोस्।” उहाँले एकछिनमा खबर गर्छु भन्नुभयो। ठ्याक्कै एक घण्टापछि दाजुको फोन आयो, “भाइ, एयरपोर्ट गएर बस्नुस्, बुद्ध एयरको स्टाफले बेलुकासम्म एउटा सिट मिलाएर पठाउँछन्।”
त्यो खबर सुन्नासाथ इनड्राइभको ट्याक्सी समातेर म सिधै पोखरा विमानस्थल पुगेँ। एयरपोर्टको प्रतिक्षालयमा बसेर घडी हेर्दै गर्दा, करिब १ घण्टापछि गणेश दाजुको फेरि फोन आयो, ६:०० बजेको फ्लाइटमा टिकट मिल्यो, काउन्टर जानुस्। लामो सास फेर्दै काउन्टरमा गएर टिकट काटेँ। शुल्क अलि महँगो नै थियो, तर त्यो बेला पैसाभन्दा मेरो जन्मभूमिप्रतिको दायित्व र छटपटी ठूलो थियो।

टिकट काटेर ढुक्कले लामो सास फेर्दै कुर्सीमा बसेँ, एउटा डुनट खाएर भोक मेट्न खोजेँ। बाहिर पानी दर्किंदै थियो, मौसम बिग्रिएर उडान नहुने हो कि भन्ने एक किसिमको डरले मनमा फेरि चिसो पस्यो। तर ५:४५ बजे आवाज आयो, “बुद्ध एयरबाट काठमाडौं जाने यात्रुहरूले गेटबाट प्रस्थान गर्नुहोला।” त्यो आवाज सुन्दा संसार जितेको महसुस भयो।
प्लेनमा बसुन्जेल मेरा आँखा झ्याल बाहिर थिएनन्, मनमा भने नुवाकोट पुगेर गर्नुपर्ने कामहरूको खाका बनिरहेको थियो। त्यहाँभाइ बहिनीहरूले विदुरको क्रियापुत्री भवन र पिपलटारको आयुर्वेद अस्पतालमा करिब ७०० जनालाई खाना खुवाइसकेको खबर सुनाइसकेका थिए। त्यही बीचमा गभर्नर सूर्य केसी सरको फोन आयो । मैले नुवाकोटमा गर्नुपर्ने उद्धार र राहतका योजना सुनाएँ। उहाँले “खाद्यान्न लगायत सामग्रीहरूको चिन्ता नगर्नुस्, खाना नियमित खुवाउनुस्, हामी सँगै छौँ” भनेर अझै ठूलो आँट दिनुभयो।

समयमै उडान भयो र ७:१५ तिर म काठमाडौं आइपुगेँ। हतारहतार ८:३० मा घर पुगेर नुवाकोट जानुपर्ने बताएपछि, श्रीमतीले “अब रात परिसक्यो, भोलि बिहानै जाऔँ, म पनि सँगै जान्छु” भनिन्। मैले हुन्छ भनेँ, तर त्यो रात मेरो आँखामा एक पल पनि निन्द्रा परेन । कतिबेला बिहान होला र म आफ्नो थातथलो फर्कन पाऊँ भन्ने मात्रै भइरह्यो।
भोलिपल्ट बिहान नुवाकोट जानुअघि अन्तर्राष्ट्रिय निर्देशक राजन लम्साल सरलाई भेटेर राहत वितरण र उद्धारका विषयमा सरकारसँग कसरी सहकार्य गर्ने भन्नेबारे परामर्श गर्नुपर्ने थियो। उहाँले बिहान ७:०० बजे घरमै आउनु भन्नुभएको थियो। म त बिहान ४:०० बजेदेखि नै घडी हेर्दै बसेको थिएँ। ठिक ७ बजे राजन सरलाई भेटेँ। उहाँ पनि रातभरि विभिन्न बैठक र चिन्ताले अनिदो हुनुहुन्थ्यो। उहाँसँगको सल्लाह र इन्दु म्यामको आशीर्वाद थापेर म नुवाकोटतर्फको यात्रामा निस्किए।

घरमा श्रीमती सजनी श्रेष्ठले झोलाहरू तयार पारिसकेकी रहिछन् । कान्छी छोरी स्कुल जानुपर्ने र ठूली छोरी धुलिखेलमा भएकोले, ठूली छोरीलाई घरमा बोलाएर हामी नुवाकोट हिँड्यौँ। हाम्रो साथमा भद्र बहादुर केसी सर पनि हुनुहुन्थ्यो भने गणेश कुमार श्रेष्ठ सर मोटरसाइकलमा अघि नै हिँडिसक्नु भएको थियो।
बिहान १०:०० बजेतिर नुवाकोट आइपुग्दा हामी सीधै पिपलटारस्थित आयुर्वेद अस्पतालमा पुग्यौं । हाम्रा साथीहरू बाढीपीडितहरूका लागि खाना पकाउने र खुवाउने काममा जुटिरहनुभएको थियो । देवीघाटका थुप्रै साथीहरूसँग भेट भयो । वरिपरिको बजार हेर्दा सबैतिर तहसनहस र खण्डहर बनेको देखियो । हामी पनि विलम्ब नगरिकन राहत र खाना खुवाउने सेवामा सहभागी भयौँ । प्रकृतिको त्यो उग्ररूपले हामीलाई भौतिक रूपमा क्षति पुर्याए पनि, मानिसको आपतकालीन संकटमा एक अर्काप्रतिको साथ, सहयोग र मानवताले जुन एकता देखायो, त्यो मेरो जीवनको सबैभन्दा पीडादायी तर कहिल्यै नभुल्ने अविस्मरणीय अध्याय बनेकाे छ।
नेकपा (एमाले)का नेता श्रेष्ठ सामाजिक अभियन्ता हुन । उनलाई फेसबुकमा पनि भेट्न सकिन्छ ।

प्रकाशित मिति : September 4, 2026 at 1:53 pm




