केपी ओली हटाउन सक्रिय दीपक निरौला आफैँले दिए राजीनामा
१९ भदाै, काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट राजीनामा दिएका छन्। बिहीबार नैकापस्थित गोल्डस्टार पार्टी प्यालेसमा बसेको जिल्ला कमिटीको बैठकमा निरौलाले अध्यक्ष पदबाट राजीनामा घोषणा गरेका हुन्।
बैठकमा एमाले सचिव डा. राजन भट्टराई र काठमाडौं जिल्ला इन्चार्ज रामेश्वर फुयाँलसमेत उपस्थित थिए। बैठकको सुरुआतमा निरौलाले आफ्नो नेतृत्वमा जिल्ला कमिटीले गरेका काम तथा उपलब्धिबारे धारणा राखेका थिए। त्यसपछि भने उनले अचानक अध्यक्ष पदबाट राजीनामा घोषणा गरेपछि बैठकमा सहभागी जिल्ला कमिटीका सदस्यहरू आश्चर्यचकित बनेका थिए।
‘अध्यक्षले आफ्नो कार्यकालका उपलब्धि प्रस्तुत गरेपछि अन्तिममा राजीनामा घोषणा गर्नुभयो। राजीनामाको विषयबारे पहिले जानकारी नदिइएकाले बैठकमा रहेका अधिकांश सदस्य स्तब्ध बने,’ बैठकमा सहभागी एक जिल्ला कमिटी सदस्यले बताए।
निरौलाले यसअघि पनि काठमाडौं जिल्ला कमिटीको नेतृत्व सम्हालिसकेका थिए । दुईपटक जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका उनले आफ्नो धारणा राखेपछि पदबाट अलग हुने घोषणा गरेका हुन् ।
उनको राजीनामालाई एमालेभित्र पछिल्लो समय देखिएको आन्तरिक शक्ति संघर्षसँग जोडेर हेर्न थालिएको छ । एमाले काठमाडौं जिल्ला कमिटीमा पछिल्लो समय जिल्ला प्रतिनिधि परिषद्को कार्यक्रममा कार्यकर्ता तथा समर्थकको उपस्थिति गराउने विषयलाई लिएर समेत विवाद देखिएको थियो।
निरौला पार्टीभित्र नेतृत्व परिवर्तनको बहस उठाउने जिल्ला अध्यक्षमध्ये एक प्रमुख नेताका रूपमा देखिएका थिए। उनी एमालेभित्रको दुई लाइन संघर्षमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट नेताका रूपमा चिनिँदै आएका छन्।

यता बिहीबारको बैठकमा सहभागी एमाले सचिव डा. राजन भट्टराई र काठमाडौं जिल्ला इन्चार्ज रामेश्वर फुयाँल भने अध्यक्ष केपी शर्मा ओलीनिकट नेताका रूपमा चिनिन्छन् । यही पृष्ठभूमिका कारण निरौलाको राजीनामालाई एमालेभित्रको शक्ति समीकरणसँग जोडेर हेरिएको हो ।
गत भदौमा भएको जेन–जी आन्दोलन र फागुन २१ गते सम्पन्न निर्वाचनपछि समेत पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका निरौला पछिल्लो समय नेतृत्व परिवर्तनको बहसमा सक्रिय थिए। यही कारण अध्यक्ष ओली र बागमती प्रदेश इन्चार्ज महेश बस्नेतलगायतबाट उनलाई पद छाड्न दबाब परेको स्रोतको दाबी छ ।
पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला निरौलाले जिल्ला अध्यक्षबाट राजीनामा दिनुलाई एमालेको आन्तरिक राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ । यद्यपि, निरौलाले राजीनामाको औपचारिक कारण भने के हो भन्ने स्पष्ट सार्वजनिक भइसकेको छैन ।
एमालेभित्र पछिल्लो समय अध्यक्ष ओलीको नेतृत्व र पार्टी सञ्चालन शैलीलाई लिएर प्रश्न उठाउने नेताहरूमाथि दबाब बढाइएको चर्चा हुँदै आएको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेललगायतका नेतामाथि समेत दबाब बढाइएको र महासचिव शंकर पोखरेल तत्काल नेतृत्व परिवर्तनको बहसबाट पछि हटेको दाबीहरू सार्वजनिक हुँदै आएका छन् ।
यसअघि २०७१ जेठ २९ गते भएको निर्वाचनबाट निरौला एमाले काठमाडौं जिल्ला कमिटीको अध्यक्षमा पुनः निर्वाचित भएका थिए। उक्त निर्वाचनमा उनले ३७० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी निर्मल देउलाले १९१ मत पाएका थिए ।
निरौलाको राजीनामापछि अब एमाले काठमाडौं जिल्ला कमिटीको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले पनि पार्टीभित्र नयाँ राजनीतिक बहस सुरु हुने देखिएको छ।
प्रकाशित मिति : September 4, 2026 at 9:37 am


