अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्याउने काम भइरहेको छः प्रधानमन्त्री
११ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्याउने काम भइरहेको जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले उद्धारका लागि आज बिहान ६:३० बजेदेखि उडानहरू सुरु भइसकेका जानकारी गराए । बिहानदेखि हालसम्म १५ भन्दा बढी उडानहरू भइसकेका र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा रहेको प्रधानमन्त्री शाहले बताए ।
‘नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भने ।

प्रभावित स्थानमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन लगायत पुर्याउने क्रममा रहेको उनले बताए । विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था छिट्टै हुने प्रधानमन्त्री शाहले बताए ।
नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना र पानीको प्रबन्ध मिलाइएको छ। चुस्त उद्धारका लागि ड्रोन सर्भेमार्फत जानकारी सङ्कलन अन्तिम चरणमा पुगेको छ। हेलिकोप्टरमार्फत उद्धार गर्दा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकालाई प्राथमिकता दिइनेछ।
राज्यका सम्पूर्ण संयन्त्र परिचालित भएकाले धैर्य तथा संयम राखी उद्धारको प्रतीक्षा गर्न प्रधानमन्त्रीले अनुरोध गरेका छन्। उनले आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न आह्वान समेत गरेका छन्।
प्रकाशित मिति : August 27, 2026 at 10:32 am



