सदनको आवाज कि जनताको अपेक्षा ?
-सन्जु बाबु पोख्रेल
लोकतन्त्रको सबैभन्दा ठूलो सौन्दर्य जनताको आवाज राज्यको केन्द्रसम्म पुग्नु हो । त्यसका लागि जनताले आफ्ना प्रतिनिधिलाई सदनमा पठाउँछन्—आशा बोकेर, भरोसा राखेर र परिवर्तनको सपना देखेर । तर आजको राजनीतिक परिवेश हेर्दा एउटा गम्भीर प्रश्न ?
सदनमा गुञ्जिरहेको आवाज साँच्चै जनताको अपेक्षाको आवाज हो, कि केवल दलगत प्रतिस्पर्धा र राजनीतिक प्रदर्शन ? प्रतिपक्षमा हुँदा हरेक कुरा सजिलो लाग्छ । सरकारको आलोचना गर्दा ताली बज्छ,भाषणले चर्चा पाउँछ र जनताले परिवर्तनको आशा देख्छन् । तर जब त्यही व्यक्ति नेतृत्वदायी भूमिकामा पुग्छ, तब उसको वास्तविक परीक्षा सुरु हुन्छ ।
किनकी कुर्सी केवल अधिकारको प्रतीक होइन, त्यो जिम्मेवारीको भारी पनि हो।आज देशको अवस्था हेर्दा धेरै ठाउँमा भाषण बढी र परिणाम कम देखिन्छ।सदनमा आवाज त धेरै उठिरहेका छन्,तर जनताको घर–आँगनमा आशाको उज्यालो कति पुगेको छ ? युवाहरू अझै भविष्य खोज्दै विदेशिन बाध्य छन्, किसान आफ्नै उत्पादनको मूल्य नपाएर निराश छन्, र सामान्य नागरिक महँगी, बेरोजगारी र अस्थिरतासँग संघर्ष गरिरहेका छन्।

यस्तो अवस्थामा जनतालाई भाषणभन्दा काम चाहिएको छ। उनीहरूलाई आरोप–प्रत्यारोप होइन, समाधान चाहिएको छ । किनकि लोकतन्त्रको मूल्य नाराले होइन, नागरिकको जीवनस्तरले मापन हुन्छ।सदन राष्ट्रको नीति निर्माण गर्ने पवित्र थलो हो । त्यहाँ दलगत स्वार्थभन्दा माथि उठेर देशको भविष्यबारे बहस हुनुपर्छ । तर यदि सदन नै अवरोध, उत्तेजना र शक्ति प्रदर्शनको केन्द्र बन्न थाल्यो भने जनताको विश्वास कमजोर बन्छ ।
जनताले प्रतिनिधि पठाएका हुन् देश बनाउन,एकअर्कालाई होच्याउन होइन।आज सरकारी निकाय, संघ–संस्था, राजनीतिक दल, सञ्चार क्षेत्र र नागरिक समाज सबैले आत्मबोध गर्नुपर्ने समय आएको छ।देश केवल सरकारको जिम्मा होइन,यो हरेक सचेत नागरिकको साझा दायित्व हो।
सरकारी संयन्त्रले सेवा दिन सिक्नुपर्छ,राजनीतिक दलहरूले सत्ता भन्दा राष्ट्रलाई प्राथमिकता दिनुपर्छ,सञ्चार क्षेत्रले सनसनीभन्दा सत्यलाई महत्व दिनुपर्छ,र नागरिकहरूले पनि अधिकारसँगै आफ्नो कर्तव्य सम्झनुपर्छ।देशलाई अहिले नयाँ भाषण होइन, नयाँ संस्कार चाहिएको छ।जिम्मेवारीलाई पदभन्दा माथि राख्ने सोच चाहिएको छ।किनकि इतिहासले सधैं सम्झिनेहरू तिनै हुन्छन्, जसले कुर्सीको उचाइ होइन, कर्तव्यको गहिराइ बुझे।
समयले आज सबैलाई एउटै प्रश्न सोधिरहेको छ “सदनको आवाज ठूलो हो, कि जनताको अपेक्षा ?” सक्ति का आधारमा न्यायालय प्रभावित भएको जस्तो भान जनता मा हुन्छ भने राज्य कमजोर हुन्छ। कार्यपालीका, व्यवस्थापिका, न्यायालय स्वच्छ बनाउन हरेक ले आ आफ्नो भुमिका निर्वाह आवश्यक छ। यदि उत्तर जनताको पक्षमा दिन सकिएन भने लोकतन्त्र केवल संरचनामा बाँच्छ, जनताको मनमा होइन।
पोख्रेल मध्यबिन्दु नगरपालिका वडा नम्बर ८को वडा सदस्य हुनुहुन्छ ।
प्रकाशित मिति : 09:30









