नारामात्रै बदलिएको कांग्रेस : व्यवहारमा झनै पुरातनवादी
–गोपीकृष्ण भट्टराई
नेपाली राजनीतिमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभएर लोकतान्त्रिक आन्दोलन र विचारको मानक मानिँदै आएको छ । बिपी कोइरालाले स्थापना गरेको ‘प्रजातान्त्रिक समाजवाद’ कांग्रेसको मूल वैचारिक जग हो । राजनीतिक स्वतन्त्रता, आर्थिक समानता, सामाजिक न्याय, कृषक तथा श्रमिकको हित र लोकतान्त्रिक विधिबाटै शान्तिपूर्ण परिवर्तन बिपीको समाजवादका मूलमन्त्र हुन ।
समयक्रमसँगै समाज, राजनीति र विश्व परिवेश परिवर्तन भएको छ । यही बदलिँदो सन्दर्भलाई सम्बोधन गर्न कांग्रेसका युवा नेता गगन थापाले विशेष महाधिवेशन तथा विभिन्न दस्तावेजहरूमा ‘सामाजिक लोकतन्त्र’को अवधारणा जोडदार रूपमा उठाएका थिए । उनले बिपीको परम्परागत प्रजातान्त्रिक समाजवादलाई समकालीन आर्थिक, सामाजिक र प्रविधियुक्त आवश्यकताहरूसँग जोडेर अघि बढाउनुपर्ने तर्क राख्दै आएका छन्। । विशेष महाधिवेशनको मञ्चबाट गगनले भावुक हुँदै भनेका थिए, “मेरो शरीरमा बिपीको रगत नबगे पनि उनको विचार र दर्शन बगेको छ।” तर १५ औं महाधिवेशनसम्म आइपुग्दा त्यो भाषणमा मात्र सिमित हुन पुग्यो । व्यवहारमा बिपीको प्रजातान्त्रिक समाजवाद देखिएन ।
तर, प्रश्न विचारको ओझेलमा व्यवहार कहाँ उभिएको छ भन्ने हो । ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने नारा घन्काउँदै अघि बढेको वर्तमान कांग्रेसको सांगठनिक अभ्यास, तल्लो तहका अधिवेशन र नेतृत्व चयन प्रक्रियालाई हेर्दा गगनका यी मर्मस्पर्शी भनाइ र कांग्रेसको वर्तमान यथार्थबीच ठूलो तादात्म्यता देखिँदैन । नारा सुन्दा कर्णप्रिय र आशालाग्दो सुनिए पनि व्यवहारमा भने “कांग्रेस बदलियो कि केवल पात्र र नेतृत्व मात्रै” भन्ने गम्भीर प्रश्न उठाएको छ ।
नारामा ‘बदलियो कांग्रेस, व्यवहारमा उही पुरानै रोग
पछिल्ला दिनहरूमा सम्पन्न कांग्रेसका वडा, पालिका, प्रदेश सभा र क्षेत्रीय अधिवेशनहरूले स्पष्ट संकेत गरेको छ की पार्टीको चरित्र, शैली र संस्कारमा कुनै आधारभूत परिवर्तन आएको छैन । नेतृत्वमा नयाँ अनुहार आए पनि कार्यशैली भने दशकौँ पुरानो धमिलो कुलोबाटै बगिरहेको छ ।
अधिवेशनका क्रममा देखिएका भड्किला भोजभतेर, तडकभडक, नेताका खल्तीबाट निकालिएका व्यक्ति चयनका सूची, आर्थिक प्रभावका आधारमा पद र प्रतिनिधि किनबेच, अनि आफ्ना मान्छेलाई जुनसुकै मूल्यमा अगाडि बढाउने धन्दाले ‘बदलियौ कांग्रेस’ भन्ने नारालाई गिज्याइरहेको छ।
प्रजातान्त्रिक समाजवादको मर्म भनेको पार्टीभित्रका हरेक उम्मेदवार र प्रतिनिधिको चयन पारदर्शी स्वच्छ र लोकतान्त्रिक प्रतिस्पर्धाबाट हुनु हो । तर, जब आर्थिक प्रभाव र गुटगत निकटताका आधारमा पद बाँडिन्छ, तब बिपीको आदर्श कागजमै सीमित हुन पुग्छ । तसर्थ, कांग्रेस सुध्रियो वा बदलियो भन्नु केवल राजनीतिक फाइदाका लागि बनाइएको आकर्षक नाराबाहेक केही होइन भन्ने पुष्टि भएको छ ।
देश बदल्ने कि देश बनाउने ?
कांग्रेसले ‘देश बदल्छौँ’ भन्ने नारा अघि सारेको छ । देश बदल्ने भनेको आखिर के हो ? देश कुनै निर्जीव वस्तु वा सामाग्री होइन, जसलाई इच्छा लाग्नासाथ बदल्ने वा रङ फेरेजसरी फेर्न सकियोस ।
वास्तवमा देश बदल्ने भन्दा पनि ‘बनाउने हो । देश बनाउनु भनेको चौतर्फी विकास गर्नु, आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउनु, समाजमा व्याप्त विभेद अन्त्य गरी सामाजिक न्याय स्थापित गर्नु, दिगो शान्ति र स्थायित्व कायम गर्नु तथा आम नागरिकको जीवनस्तर उकास्नु हो ।
यदि साँच्चै देश बनाउने वा यसको मुहार बदल्ने हो भने सबैभन्दा पहिला राजनीतिक दलहरूले आफ्नै राजनीतिक संस्कार, सांगठनिक अभ्यास र निर्णय प्रक्रिया बदल्न आवश्यक छ । जुन पार्टीभित्रको आन्तरिक लोकतन्त्र नै कमजोर, पारदर्शीहीन र गुटबन्दीले थिचिएको छ, उसले देशमा सुशासन र मजबुत लोकतन्त्र कायम गर्छु भनेर दिएको दाबी कति विश्वसनीय होला ? आफैँ नसुध्रिएको शक्तिले देश सुधार्छ भनेर जनताले कसरी पत्याउने?
लास र दासको पार्टी कि टाउकेहरूको स्वेच्छाचारिता ?
गगन थापाले विशेष महाधिवेशनको मञ्चबाट भनेका थिए, कांग्रेस लास र दासहरूको पार्टी होइन, यो जीवन्त लोकतन्त्रवादीहरूको थलो हो । तर, जारी सांगठनिक अधिवेशनहरूले उनको यो अभिव्यक्तिमाथि ठूलो प्रश्नवाचक चिन्ह खडा गरिदिएको छ ।
साँझ परेपछि दुई तीन जना शीर्ष ‘टाउके’ नेताहरू अँध्यारो कोठामा बसेर तयार पारेको प्यानल लिस्ट वा टीकेसूची बोकेर कार्यकर्ताहरूलाई फलानो फलानो व्यक्तिलाई मात्र भोट हाल्नु भनेर थमाउने दृश्यले गगनको भाषणको गाउँगाउँमा खिल्ली उडिरहेको छ । मतदातालाई उनीहरूको इच्छा र विवेकविपरीत बाँडिएका यस्ता सूचीमा मतदान गर्न बाध्य पारिनुले पार्टीमा अझै पनि मालिकपन र सामन्ती संस्कार हाबी रहेको छर्लङ्ग हुन्छ ।

जहाँ विवेकभन्दा आदेश चल्छ, त्यहाँ मालिक र दासकै प्रवृत्ति हाबी हुन्छ । उम्मेद्वारको योग्यता, क्षमता, विचार, त्याग र योगदानको कसीमा जोखेर स्वतन्त्र रूपमा मतदान गर्न पाउने अधिकारबाट कार्यकर्तालाई वञ्चित गरिनु बिपी कोइरालाले परिकल्पना गरेको विचारशील कांग्रेसको सिद्धान्तविपरीत छ । लोकतन्त्रको सुन्दरता भनेकै निर्भय र स्वतन्त्र मताधिकार प्रयोग गर्न पाउनु हो । तर, हाल कांग्रेसमा चलिरहेको अधिवेशनको अभ्यासमा त्यो सुन्दरता र निष्पक्षता कहीँकतै भेटिँएन । देखिएन ।
नातावाद र कृपावादको निरन्तरता
हिजोका दिनमा शेरबहादुर देउवा नेतृत्वको कांग्रेसमा नातावाद, कृपावाद र गिरोहका मान्छेहरू हाबी भएको कडा आलोचना हुन्थ्यो । आज बदलिएको र नयाँ भनिएको कांग्रेसमा पनि उही पुरानो भन्दा अझ बढी नातावाद देखिएको छ ।
माथिल्लो पद वा प्रतिनिधिमा पुग्न एकाघरका नातेदार, नजिकका आसेपासे, गुटगत बफादार र मोटो रकम चन्दा दिन सक्ने बिचौलियाहरूलाई रातारात मतदाता बनाइएको छ । कतिपय ठाउँमा नक्कली सहीछाप गरेर आफ्ना मान्छेलाई उम्मेदवार खडा गर्ने, र नीतिभन्दा पनि व्यक्तिप्रति बफादार हुने ‘हनुमान’ हरूलाई जिम्मा दिने हर्कत जारी अधिवेशनमा समेत निर्बाध दोहोरिएका छन । अनुहार र पुस्ता फेरिए पनि प्रवृत्र् िउही पुरानै हुनुले कांग्रेस सुध्रिएको नभई पुरानै रोगको नयाँ संस्करण बनेको पुष्टि गर्छ ।
पहिला आफू र संस्कार बदलौँ
युवा वा नयाँ पुस्ताका नेताहरू माथिल्लो तहमा पुग्दैमा पार्टी स्वतः बदलियो भन्न सकिँदैन । नेतृत्व परिवर्तन हुनु एउटा प्राविधिक विषय मात्र हो । साँचो अर्थमा पार्टी बदलिएको मान्नका लागि नेतृत्वसँगै निर्णय गर्ने शैली, सांगठनिक परिपाटी, उम्मेद्वार चयनको निष्पक्ष प्रक्रिया र कार्यकर्ताको स्वतन्त्र मताधिकार जस्ता आधारभूत विषयहरू बदलिनु अनिवार्य छ ।
बिपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादहोस् वा गगन थापाले वकालत गरेको सामाजिक लोकतन्त्र दुवै विचारको केन्द्रमा लोकतान्त्रिक मूल्य मान्यता, सामाजिक न्याय र नागरिकको स्वतन्त्रता नै मूल कुरा हो । त्यसैले आफूलाई बदलिएको वा नयाँ युगको संवाहक दाबी गर्ने कांग्रेसले यी सिद्धान्तलाई भाषण र दस्तावेजमा मात्र होइन, तल्लो तहको व्यवहारमा उतारेर देखाउनुपर्छ ।
आफूलाई साँच्चै रूपान्तरण गर्न चाहेको कांग्रेसले आफ्ना साधारण कार्यकर्ता र समर्थकलाई केवल चुनावी भोट बैंक वा दासका रूपमा मात्र हेर्ने दृष्टिकोण त्याग्नुपर्छ । पार्टीभित्रका हरेक निर्णय प्रक्रियामा कार्यकर्तालाई भोजभतेरको प्रभाव, गुटगत सूची, आर्थिक चलखेल र नातावादभन्दा माथि उठेर योग्य, सक्षम र चरित्रवान् व्यक्ति चयन गर्ने पूर्ण स्वतन्त्रता कसरी कायम राखिन्छ । अबको कांग्रेसको औचित्य र भविष्य यसै विषयले निर्धारण गर्नेछ । अन्यथा, बदलियो कांग्रेस, बदल्छौँ देश भन्ने नारा इतिहासको अर्को ठूलो राजनीतिक छल र जालसाक्षीका रूपमा रहनेछ । गगन थापाले दिएको भाषण भन्दा पनि उनी पार्टी सभापति भएपछि उनले के गरे त्यो आम कांग्रसीले नियाली रहेका छन् । कुनै दिन यस्तो आउँछ, जसरी उनी उदाए, त्या भन्दा कयौ गुना दुखम अवरण नहोला भन्न सकिन्न । त्यसैले बेलैमा सच्चिएर अघि बढ्न सकेन भने त्यो उनको लागि निकै चिन्ताको विषय बन्नेछ ।
प्रकाशित मिति : October 9, 2026 at 7:13 am






