३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

२७ वैशाख, तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले यदि इरानी ट्याङ्कर तथा व्यापारी जहाजहरूलाई आक्रमण गरिएमा क्षेत्रीय रूपमा रहेका अमेरिकी लक्ष्यहरूमा कडा प्रतिक्रिया दिन सकिने चेतावनी दिएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार गाड्र्सले इरानी जहाज वा व्यापारिक ढुवानीमा कुनै प्रकारको आक्रमण भएमा त्यसको गम्भीर जवाफ दिइने स्पष्ट पारेका छन् । यो अभिव्यक्ति हालै ओमानको खाडीमा देखिएको तनावपछि आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले शान्ति प्रस्तावको पछिल्लो पहलमा छिट्टै प्रतिक्रिया दिने अपेक्षा व्यक्त गर्नुभएको छ । यद्यपि, इरानले अहिलेसम्म आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले पछिल्ला घटनाक्रमले कूटनीतिक प्रक्रियामा केही चुनौती थपिएको बताउँदै सबै पक्षले संयमता र संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

यसैबीच, होर्मुज जलडमरूमध्य र खाडी क्षेत्रमा पछिल्ला दिनहरूमा तनावपूर्ण अवस्था देखिएको छ । समुद्री मार्ग र ऊर्जा ढुवानी सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।

खार्ग टापु नजिक तेल चुहावटको सङ्केत देखिएको विषयमा पनि सम्बन्धित निकायहरूले निगरानी बढाएका छन्, यद्यपि यसको कारणबारे स्पष्ट जानकारी आइसकेको छैन । क्षेत्रीय शान्ति र स्थायित्वका लागि कूटनीतिक प्रयास जारी रहने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : 16:19