३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवललाई तीन अन्तर्राष्ट्रिय अवार्ड

२७ वैशाख, बुटवल। सञ्चालनमा आएको मात्र ६ महिनामै हायात प्लेस बुटवलले आतिथ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै तीन वटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ। ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ र ‘वल्र्डवाइड बेस्ट होटेल डट कम’ ले होटेललाई विभिन्न श्रेणीमा सम्मान प्रदान गरेका हुन्।

होटेलले “नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६”, “नेपालको उत्कृष्ट होटेल अवार्ड २०२६” र “नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६” प्राप्त गरेको छ। छोटो अवधिमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउनु यस क्षेत्रकै दुर्लभ उपलब्धि भएको बताइएको छ।

संस्थाका अनुसार यी अवार्डहरूले होटेलको विश्वस्तरीय सेवा, आकर्षक कार्यक्रम स्थल, आधुनिक सुविधा तथा व्यवस्थापन क्षमताको मूल्यांकन गर्दै प्रदान गरिएको हो। विशेष गरी वेडिङ भेन्यु अवार्डले विवाह तथा कार्यक्रम व्यवस्थापनमा होटेलले दिएको सेवा र तयारीलाई मान्यता दिएको छ।

त्यस्तै, उत्कृष्ट जनरल म्यानेजर अवार्डले नेतृत्व र व्यवस्थापन क्षमताको प्रशंसा गरेको हो। होटेलका महाप्रबन्धक तुषार नागरले यो उपलब्धिलाई सम्पूर्ण टोलीको सामूहिक प्रयासको परिणाम भएको प्रतिक्रिया दिएका छन्।

उनका अनुसार, “छोटो समयमा यस्तो सम्मान पाउनु हाम्रो लागि ठूलो प्रेरणा हो। सुरुवातदेखि नै अन्तर्राष्ट्रिय स्तरको सेवा दिने हाम्रो लक्ष्य थियो, र यी अवार्डहरूले त्यस दिशामा हामीलाई अझ सशक्त बनाएको छ।”

हायात प्लेस बुटवलले आधुनिक सुविधा, बहुउद्देश्यीय कार्यक्रम स्थल र आतिथ्य सेवामार्फत बुटवललाई नयाँ हस्पिटालिटी गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : 15:39