२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु

२२ वैशाख, भक्तपुर । सुकुम्बासीका अस्थायी शिविर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा स्वास्थ्य उपचारदेखि पठनपाठन सञ्चालनमा ल्याइएको छ ।

सोमबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरी उपचार र औषधि वितरण सुरु गरिएको हो । शिविरमा भक्तपुर अस्पतालको चिकित्सक, नर्स, प्राविधिक टोली, तिलगङ्गा आँखा अस्पतालको आँखारोग बिशेषज्ञसहितको टोलीद्वारा शिविर सञ्चालन गरी १५८ जनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत एवं कार्यालयकी प्रमुख अञ्जना खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ रहेका सबै सुकुम्बासी बस्तीदेखि सारिएका २६ जना बालबालिकासहित १५८ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिरहेका छौँ ।” शिविरमा घाँटीमा प्वाल पारेर उपचार गराइरहेका आठ वर्षीय बालक, घाउमा नियमित ड्रेसिङ गर्नुपर्ने बिरामी, प्यारालाइसिस भएका ज्येष्ठ नागरिक, दृष्टिविहीन परिवार, कृष्ठरोगी, हिँड्न र बोल्न नसक्ने तथा सुस्तमनस्थिति भएका परिवार, सुत्केरी, गर्भवतीलगायत छन् ।

उहाँले स्वास्थ्य शिक्षा र मनोपरामर्श सेवा सञ्चालन गरिरहेको बताउनुभयो । क्षयरोगका बिरामी पनि हुनसक्ने आशङ्काले जन्त्र नामक संस्था र भक्तपुरको राष्ट्रिय क्षयरोग केन्द्रलाई तत्काल एआई प्रविधिको एक्सरे मेसिनबाट क्षयरोगको परीक्षण गर्न अनुरोध गरेको जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले सङ्घीय स्वास्थ्य मन्त्रालयसँग यसबारेमा छलफल भइरहेको जानकारी दिँदै प्रदेश सरकारले शिविरमा रहेसम्म यहाँका बिरामीको सेवामा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्योपचारको जिम्मेवारी लिने बताउनुभयो ।

यहाँ रहेका २६ जना बालबालिकालाई ‘मोनिटर’मार्फत शिक्षासम्बन्धी चेतनामूलक जानकारीसहितको कक्षा सञ्चालन गरिएको र आजदेखि अस्थायी रूपमा नियमित पठनपाठनसमेत सुरु गरिएको छ ।

प्रकाशित मिति : 13:12