२४ जेष्ठ २०८३, आइतबार | Mon Jun 8 2026

डेपुटी गभर्नर पण्डितको सम्पत्तिः २० तोला सुन, विभिन्न कम्पनीका सेयर

१० चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण बुझाउनुभएकाे छ । उहाँकाे सम्पत्ति विवरणअनुसार विभिन्न ठाउँमा घरजग्गा, सुनचाँदी र सेयरमा लगानी रहेको उल्लेख गर्नुभएकाे छ ।

उक्त सम्पत्ति विवरणअनुसार पण्डितको काठमाडौँको टोखा नगरपालिकामा २ करोड २० लाखको जग्गा रहेको उल्लेख छ । पत्नी कामना शर्मा पण्डितका नाममा रहेको उक्त सम्पत्तिको स्रोत निजी तथा श्रीमतीको आय र बैंक ऋण रहेको उल्लेख गरिएको छ ।

साथै उहाँले सामाखुसीमा साढे दुई तलाको घर रहेको छ । जुन घर उहाँकी आमा गौरी पण्डितको नामा रहेको र पैतृक रहेको उल्लेख छ । त्यस्तै, बुबाको नाममा काठमाडौँमा जग्गा, तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाख रुपैयाँ बराबरको जग्गा, कैलालीको धनगढीमा आफ्नै नाममा १० लाख रुपैयाँको जग्गा र भाइ बुहारी अनिता गौतमको नाममा रुपन्देहीमा ४० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ ।

सम्पत्ति विवरणमा पण्डितसँग करिब २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँबराबरको हिरा रहेको उल्लेख गरिएको छ। यी सम्पत्ति विवाह, पारिवारिक अवसर तथा व्यक्तिगत आर्जनबाट प्राप्त भएको विवरणमा जनाइएको छ।

पण्डितले राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकहरूमा बचत रहेको खुलाउनुभएकाे छ । जसमा राष्ट्र बैंकमा एक करोड ९ लाख, वाणिज्य बैंकमा १ करोड ११ लाख, कर्मचारी सञ्चय कोषमा २४ हजार, नागरिक लगानी कोषमा २३ हजार, वाणिज्य बैंकमा ७ हजार ८५६ डलर बचत रहेको विवरणमा उल्लेख छ ।

पण्डितले विभिन्न कम्पनीहरूमा शेयर लगानी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँले बैंक तथा वित्तीय संस्थामा २ हजार ९४८ कित्ता, जलविद्युतमा ३ हजार ६०६ कित्ता, बीमामा ३६ कित्ता सेयर लगानी रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएकाे छ ।

प्रकाशित मिति : April 23, 2026 at 4:13 pm