‘म्यान अफ दी इलेक्सन’ बन्दै चलचित्र पत्रकार संघको अध्यक्षमा समिर बलामी
६ वैशाख, काठमाडाैँ । चलचित्र पत्रकार संघ नेपालमा पुनः समिर बलामी नेतृत्वको टिम विजयी भएको छ । शनिबार भएको निर्वाचनमा अध्यक्षमा समिर बलामी दोब्बर मतान्तरमा विजयी हुनुभयो । उहाँले कुल खसेको १४० मतमा सर्वाधिक ९५ मत प्राप्त गर्नुभयो । उहाँको प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत प्राप्त गर्नुभयो । बलामी यसअघि अध्यक्ष नै हुनुहुन्थ्यो भने पराजुली पूर्व उपाध्यक्ष हुनुहुन्छ । बलामी फिल्मीफण्डाको सञ्चालकसहित सम्पादक हुनुहुन्छ भने पराजुली ठूलोपर्दाको सञ्चालकसहित सम्पादक हुनुहुन्छ ।
निर्वाचनबाट उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा विजयी हुनुभएको छ । उहाँले ७३ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नविन गिरीले ६२ मत प्राप्त गर्नुभएको छ । सापकोटा यसअघि महासचिव हुनुहुन्थ्यो । उहाँ सेलिब्रेटी नेपालको सञ्चालकसहित सम्पादक हुनुहुन्छ ।
उपाध्यक्ष (कार्यक्रम)मा कुमार आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्ष (महिला)मा दिपज्योति थापा ७५ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी सुष्मा कार्कीले ६२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै महासचिवमा ५४ मतसहित गोपीकृष्ण चापागाई विजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी मनिष कार्कीले ४४ मत प्राप्त गर्नुभयो । महासचिवका उम्मेदवार सिपी जैशी र पवन भट्टराईले पनि केही मत प्राप्त गर्नुभयो ।
सचिवमा मदन रिजाल ९४ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी सुरेन्द्र थापा मगरले ४५ मत प्राप्त गर्नुभयो । सचिव (समावेशी)मा महम्मद जालिम निर्विरोध निर्वाचित हुनुभयो । त्यस्तै कोषाध्यक्षमा मनिष अन्जान ७४ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी निशा बजगाईले ६५ मत प्राप्त गर्नुभयो । मनिष फिल्मीखबरमा कार्यरत हुनुहुन्छ । निर्वाचनमा पराजुलीको प्यानलबाट मनिषमात्र विजयी हुनुभयो ।
सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं ६२ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी भोला प्रणव सुवेदीले ४२ मत प्राप्त गर्नुभयो । त्यस्तै सदस्यहरूमा सदस्यहरूमा सोजना विक लोहार, सुशिल नेपाल, दिनेश थापा, नविन चापागाई, रतन बहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री, सालिकराम न्यौपाने विजयी हुनुभयो ।
प्रकाशित मिति : 06:39









