नक्कली सरकारी पत्र बनाएको आरोपमा दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणसँग सम्बन्धित नक्कली सरकारी कागजात तयार गरी प्रयोग गरेको आरोपमा दुई जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्राधिकरणमा करार सेवामा कार्यरत तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीले अनुसन्धानका क्रममा पेश गरेको एक पत्र शंकास्पद देखिएपछि गरिएको छानबिनमा उक्त कागजात नक्कली रहेको पुष्टि भएको हो।
अनुसन्धानबाट कार्कीले कार्यालय समयबाहेक पार्टटाइम काम, व्यापार तथा अध्ययन/अध्यापन गर्न स्वीकृति लिएको भन्ने बेहोराको मिति २०६२ पुस २९ गतेको पत्र पेश गरेका थिए। उक्त पत्रमा चलानी नम्बर उल्लेख नभएको तथा त्यसबेला प्रचलनमा नभएको “नेपाल सरकार” शब्द प्रयोग गरिएको पाइएको आयोगले जनाएको छ। नेपाल राजपत्रमा २०६३ जेठ ४ गतेपछि मात्र “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” प्रयोगमा आएको थियो।

यसका साथै, सम्बन्धित कार्यालयको अभिलेखमा उक्त निवेदन तथा पत्र दर्ता नभएको र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट समेत कागजात नक्कली भएको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका अनुसार तत्कालीन आयोजना प्रमुख डा. भाइकाजी तिवारी र याम कुमार कार्कीबीच मिलेमतो गरी गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले उक्त नक्कली कागजात तयार गरी प्रयोगमा ल्याइएको ठहर गरिएको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर ठहर गर्दै दुवै जनाविरुद्ध कैद र जरिवानाको मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 16:26









