३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

सहसचिव उदयबहादुर रानामगरलाई रासस अध्यक्षको जिम्मेवारी

३ वैशाख, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को सञ्चालक समितिका नवनियुक्त अध्यक्ष उदयबहादुर रानामगरले आज पद बहाली गर्नुभएको छ ।

समितिको रिक्त अध्यक्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको यही वैशाख २ गतेको निर्णयअनुसार सहसचिव रानामगरलाई अर्काे व्यवस्था नभएसम्मका लागि बोर्डको अध्यक्ष तोकिएको हो । अध्यक्ष रानामगरले आज रासस केन्द्रीय कार्यालय, भद्रकालीस्थित कार्यालयमा पद बहाली गर्नुभयो भने उहाँलाई राससका महाप्रबन्धक सन्दीप राई र विभागीय प्रमुखलगायतले स्वागत गर्नुभयो ।

अध्यक्ष रानामगरले नयाँ सरकारको ‘स्पिरिट’अनुसार जनताले परिवर्तन अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले सबै पदाधिकारी र हरेक कर्मचारीको कार्य विवरण तयार गरी मूल्याङ्कन प्रणाली बसाल्न आग्रह गर्नुभयो । अध्यक्ष रानामगरले रासस आफ्नो खुट्टामा आफैँ उभिन सक्ने स्थिति ल्याउन आग्रह गर्दै मन्त्रालयमा आफूहरुले हरेक दिन दुई नयाँ प्रगति विवरण दिन थालिएको स्मरण गराउनुभयो ।

अध्यक्ष रानामगरले मुलुक बिगार्ने कर्मचारी पनि हुन् भन्ने गलत भाष्य सृजना भइरहेकाले त्यसलाई चिर्न हरेक कर्मचारीले आफूलाई बदल्नुपर्नेमा जोड दिनुभयो । परिणामूलक काम गरेपछि मात्रै सेवा सुविधाका बारेमा कुरा उठाउन उहाँको आग्रह थियो । अध्यक्ष रानामगरले आफू पूर्णकालीन अध्यक्ष नभएकाले नियमित काम गर्ने समूहले नै रासस चलाउने भएकाले संस्थालाई सामूहिक निर्णय प्रणालीमा लान र देखिएका नीतिगत समस्या फुकाउन सहयोग गर्ने बताउनुभयो ।

महाप्रबन्धक राईले तालुक मन्त्रालयका सहसचिवलाई समितिको अध्यक्षका रुपमा पाउँदा आफूहरुले थप सहजता महसुस गरेको बताउनुभयो । उहाँले नयाँ अध्यक्षको आगमनसँगै नीतिगत र व्यवस्थापकीय सवालमा गरिनुपर्ने निर्णयमा तदारुकता देखाइने बताउनुभयो ।

अध्यक्ष रानामगरलाई राससका प्रबन्ध सम्पादक उत्तम सिल्वाल, प्रमुख समाचारदाता एकराज पाठक, प्रधानसम्पादक एवं प्रशासन प्रमुख शीतलप्रसाद महतोलगायतले समाचार उत्पादन, गुणस्तर वृद्धि, सेवाग्राही र व्यवस्थापकीय सवालमा जानकारी गराउनुभएको थियो  कार्यक्रममा राससका सञ्चालक समिति सदस्यद्वय रवीन्द्रप्रसाद पौडेल र कृष्ण अधिकारी सहभागी हुनुहुन्थ्यो ।

विसं २०३१ मा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ मा जन्मनुभएका रानामगर विसं २०५६ देखि निजामती सेवामा प्रवेश गर्नुभएको हो । अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका उहाँले जापानबाट स्नातकोत्तर गर्नुभएको छ । सरकारी सेवाका क्रममा गृह प्रशासनका साथै हङकङको महावाणिज्यदूतको जिम्मेवारी सम्हालिसक्नुभएका रानामगरका अनुसन्धानमूलक पुस्तकसमेत प्रकाशित छन् ।

राससका अध्यक्ष धर्मेन्द्र झाले गत चैत १६ गते दिनुभएको राजीनामा चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : 18:03