२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सबै मन्त्रालयकाे सवारी साधनको विवरण २४ घण्टाभित्र बुझाउन प्रधानमन्त्री कार्यालयकाे निर्देशन

२ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय तथा मातहतका निकायमा प्रयोगमा रहेका सवारी साधनहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

पत्रमा उल्लेख भएअनुसार, सबै मन्त्रालयले २०८३ वैशाख ३ गते कार्यालय समयभित्रै तोकिएको ढाँचामा विवरण अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

कार्यालयको प्रशासन शाखाबाट जारी पत्रअनुसार विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयहरूमा प्रयोग भइरहेका तथा मर्मत भइरहेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनहरूको विस्तृत विवरण तयार गरी पठाउन भनिएको हो।

पत्रमा उल्लेख भएअनुसार सवारी साधनको ब्रान्ड र मोडेल, नम्बर, गियर प्रणाली, डिजेल/पेट्रोल वा विद्युतीय अवस्था, प्रयोगकर्ताको नाम र पद तथा सवारी साधनको वर्तमान अवस्थासहितको विवरण तयार गर्नुपर्नेछ।

उक्त विवरण तोकिएको मितिभित्र कार्यालय समयभित्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउन अनुरोध गरिएको छ। सचिवस्तरीय निर्णयअनुसार यस्तो विवरण संकलन गर्न लागिएको जनाइएको छ।

प्रकाशित मिति : 19:28