२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

इन्धन खपत घटाउन काठमाडौं महानगरले कार्यान्वयनमा ल्यायो ‘कार पुलिङ’

२९ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विश्वव्यापी रूपमा बढ्दो इन्धन अभाव र त्यसले पार्न सक्ने दीर्घकालीन असरलाई मध्यनजर गर्दै महानगरपालिकाले आफ्ना अधिकारीहरूका लागि कार्यालय आउजाउ गर्न सवारी साधनको आलोपालो प्रयोग गर्ने ‘कार पुलिङ’ प्रणालीलाई कार्यान्वयनमा ल्याएको हाे ।

महानगर कार्यबाहक प्रमुख सुनिता डंगोलले इन्धन खपतलाई न्यूनीकरण गर्ने र सम्भावित संकटबाट बच्ने पूर्वतयारी स्वरूप यो व्यवस्था लागू गरिएको जानकारी दिनुभयाे ।

यो निर्णयले महानगरको खर्च कटौती गर्ने मात्र नभई सडकमा सवारीको चाप घटाउन र वातावरण संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ । ‘विश्वभर इन्धनको अभाव छ, यस्तो अवस्थामा पहिलेकै जस्तो सवारी साधन चलाउँदै जाने हो भने अत्यावश्यक सेवाका लागि समेत इन्धन नपाइने स्थिति आउन सक्छ,’ कार्यवाहक प्रमुख डंगोलले भन्नुभयाे, ‘यही सम्भावित समस्यालाई रोक्न हामीले इन्धनको प्रयोग घटाउनुको विकल्प देखेनौँ ।’

महानगरले लागु गरेको यो नयाँ प्रणाली अनुसार, एउटै आवासीय क्षेत्रबाट कार्यालय आउने–जाने कर्मचारीहरूको समूह बनाइएको छ । उक्त समूहमा रहेका अधिकारीहरूले आफूलाई उपलब्ध गराइएको सवारी साधन आलोपालो गरी प्रयोग गर्नुपर्नेछ ।

एक दिन एकजना अधिकारीले आफ्नो गाडीमा समूहका अन्य सदस्यलाई लिएर कार्यालय आउने र लैजाने व्यवस्था मिलाइएको छ । यसले गर्दा दैनिक कार्यालय आउने गाडीको संख्यामा उल्लेख्य कमी आउने महानगरको विश्वास छ ।

प्रकाशित मिति : 15:00