२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

बढेको भाडा आजैदेखि लागू, अब उपत्यकामा गाडी चढ्ने बित्तिकै २५ रुपैयाँ तिर्नु पर्ने

२५ चैत, काठमाडौं । अब सार्वजनिक सवारीमा यात्रा गर्दा न्यूनतम भाडा २५ रुपैयाँ तिर्नुपर्ने भएको छ । सरकारले बुधबार यात्रु बाहक सवारीका हकमा १६.७१ प्रतितसम्म भाडा बढाउने निर्णय गरेसँगै अब यात्रुले न्यूनतम २५ रुपैयाँ तिर्नुपर्ने भएको हो ।

साविकमा छोटो दूरीको माइक्रो, बसलगायतमा २० रुपैयाँ देखि २५ रुपैयाँसम्म भाडादर कायम गरिएको थियो । त्यसमा बढेको भाडादर प्रतिशतले हिसाव गर्दा न्यूनतम भाडा २३.४५ हुन पुगेको छ । १ रुपैयाँ फिर्ता ाहुने भएकाले अब छोटो दूरीमा गाडी चढ्ने बित्तिकै २५ रुपैयाँ तिर्नुपर्ने छ ।

यातायात व्यवस्था विभागले इन्धनको मूल्य र अन्य १३ वटा सूचकहरुलाई आधार मानी वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा नयाँ भाडादर लागू गरेको हो ।

विभागले निकालेको सूचना अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ । नयाँ भाडादर दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय स्तरका रुटहरुमा आजैदेखि लागू हुनेछ ।

प्रकाशित मिति : 16:40