४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान

https://www.muktinathbank.com.np/online/loan-application

२३ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकका लगानीकर्तालाई मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीलत निवासमा आज गैरआवासीय नेपाली सङ्घका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा उहाँले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा अन्तरराष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा बढाउन आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ, भारत र चीनजस्ता विश्वकै ठूलो जनसङ्ख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन्, यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित हुनुपर्दछ ।”

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट मुलुकको विषम र जटिल परिस्थितिले एउटा निकास पाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अब मुलुकमा सुशासनको माध्यमबाट सामाजिक न्यायसहितको विकास र समृद्धितर्फ अग्रसर हुन जनताले मतादेश दिएका बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई अङ्गिकार गरेर अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम अघि बढेको उल्लेख गर्दै त्यसमा गैर आवासीय नेपाली सङ्घले आफ्नोतर्फबाट सहयोग गर्ने नै छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले गैरआवासीय नेपाली विश्वसम्मेलनबाट भर्खरै निर्वाचित अध्यक्ष, पदाधिकारीलगायत सबैलाई हार्दिक बधाई दिँदै यो समितिले संसारभर रहेका सबै गैरआवासीय नेपालीलाई समेटेर यो संस्था सबैको साझा संस्था हो भन्ने भावना जागृत गराउन सफल होस् भन्ने शुभकामना पनि दिनुभयो । सो अवसरमा सङ्घका नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्माले संघका गतिविधि र भावी योजनाबारे प्रकाश पार्नुभएको थियो ।

प्रकाशित मिति : April 6, 2026 at 1:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/