विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य, अब सरकारी अस्पतालबाटै सेवा
१७ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ । अबदेखि श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन् ।
वैदेशिक रोजगारमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था कार्यान्वयनलाई थप व्यवस्थित बनाउन मन्त्रालयले स्वास्थ्य संस्थाको सूचीकरण प्रक्रिया अगाडि बढाएको हाे ।
मन्त्रिस्तरीय निर्णयअनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थालाई सूचीकरण खुला गरिएको हो।सो निर्णय बमोजिम नेपाल सरकारबाट स्वीकृति प्राप्त तथा सरकारी स्वामित्वमा रहेका स्वास्थ्य संस्थाहरूले स्वास्थ्य परीक्षण सेवा प्रदान गर्न पाउनेछन्।
मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, यस मन्त्रालयको मिति २०६२।१२।१७ को माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रिस्तरबाट भएको निर्णय अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने नेपाल सरकारबाट स्वीकृति प्राप्त वा नेपाल सरकारको स्वामित्वमा रहेको स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्था बमोजिम यस मन्त्रालयबाट सूचीकरणको लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

प्रकाशित मिति : 14:50









