१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

ओलीलाई हिरासत मुक्त गराउने पहिलो प्रयास असफल भएपछि निराश बने टीकाराम भट्टराई

१७ चैत, काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन्जी विद्रोहमा गरेको दमनका कारण ज्यान मुद्दा खेपीरहेका नेकपा (एमाले)का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासत मुक्त गराउने पहिलो प्रयास असफल भएपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले न्यायालयप्रति निराशा प्रकट गर्नुभएको छ ।

सर्वोच्च अदालतमा ओली पत्नी राधिका शाक्यले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस गर्नुभएको भट्टराईले सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलाशले ओलीलाई हिरासतमुक्त गर्न अस्वीकार गरेपछि फेसबुक मार्फत निराशा व्यक्त गर्नुभएको हो ।

उहाँले न्यायालयको भरोसा नगर्न अनुरोध नै गर्नुभएको छ । उहाँले उल्लेख गर्नुभएको छ, ‘पपुलिजमको उत्कर्समा न्यायलयको धेरै भरोसा नगर ।’ साथै भट्टराईले कांग्रेस, एमाले र अरु प्रतिपक्षिहरू भनेर सम्बोधन गर्दै राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको लडाई एक साथ लड्न तयार रहन अपिल समेत गर्नुभएको छ ।

उहाँले लडाइ लामो हुन सक्ने पूर्वानुमानसहित दलहरूले सबैभन्दा पहिला आफ्नो घर बलियो बनाउन अनुरोध समेत गर्नुभएको छ । उहाँले त्यसका लागि भ्रष्ट, अनैतिक र तिरस्कृत अनुहारहरूलाई विदा दिन अनुरोध गर्नुभएको छ ।

dainiki.com

भट्टराईले अन्तिममा पपुलिजमको उत्कर्समा नागरिक हक, प्रेस स्वतन्त्रता र प्रजातन्त्रको स्पेस संकुचित हुन्छ भन्ने हेक्का राख्न समेत चेतावनी दिनुभएको छ ।

सोमबार नै नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले लेखकलाई हिरासत मुक्त गर्न अस्वीकार गर्नुभएको छ । दुबै न्यायाधीशले सरकारसँग पक्राउको कारण माग गर्नुभएको छ ।

स्मरणीय के छ भने दुबै न्यायाधीश तत्कालीन ओली सरकारको समयमा सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको थियो । दुबै जना नेपाली कांग्रेसको कोटामा नियुक्त हुनुभएको न्यायाधीश हुनुहून्छ । रेग्मी त कांग्रेसको केन्द्रीय सदस्यमा पराजित लगत्तै सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार ०७:००