२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित

२१ फागुन, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालित गरेको छ ।

काठमाडौँ महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न ३० मतदान केन्द्रमा चार/चार जना स्वयंसेवकले सेवा प्रदान गरिरहेका छन् । साथै ती स्वयंसेवकको अतिरिक्त शाखाले एम्बुलेन्ससहित सातजनाको अलग टोली पूर्वतयारी अवस्थामा राखेको छ ।

जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले मतदान केन्द्रमा आकस्मिक प्राथमिक उपचार सेवा उपलब्ध गराउनुपर्ने स्थिति सिर्जना हुनसक्ने अवस्थालाई मध्यनजर राखी स्थानीय रुपमा प्राथमिक उपचार टोली तथा सामग्रीहरू पूर्वतयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्राथमिक उपचार स्वयंसेवकले तत्काल प्राथमिक उपचार सेवा आवश्यक पर्नेलाईसेवा प्रदान गरिरहेका छन् ।”

यसका लागि जिल्ला शाखाले प्राथमिक उपचार स्वयंसेवकहरूका लागि अभिमुखीकरणसमेत आयोजना गरेको थियो । अभिमुखीकरणमा प्राथमिक उपचार पुनर्ताजगी, सुरक्षित पँहुच, मनोसामाजिक सहयोग र मनोवैज्ञानिक प्राथमिक उपचारलगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको छ । शाखाले स्वयंसेवकहरूलाई मानवीय सेवाका विभिन्न गतिविधिहरू सञ्चालनमा परिचालन गर्दै आएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १६:४१