७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

रूपाली होलीलाई निरन्तरता दिँदै रूपालवासी

१८ फागुन, महेन्द्रनगर । डडेल्धुराको रूपालबाट बसाइँ सरी कञ्चनपुरको विभिन्न स्थानमा छरिएर रहेका रूपाली समुदायका नागरिकले पम्परागत रूपाली होलीलाई धुमधामका साथ मनाइरहेका छन् ।

फागु पूर्णिमाको तीन दिनअघि देखि सुरु भएको रूपाली होली कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिकाका साथै अन्यत्र पनि सुरु भइसकेको छ ।

दशकौँदेखि सुदूरपश्चिममा समुदाय विशेषले मनाउने रूपाली होलीको रौनक बढेको भीमदत्त नगरपालिका–१८ का स्थानीय लोकबहादुर ठकुराठीले जानकारी दिनुभयो ।

सो बसोबास गर्ने नागरिकलाई ‘रूपालवासी’ भनेर स्थानीय भाषामा चिनिन्छ । रूपाली समुदायले तराईझरेयता नियमित रूपमा पम्परागत होलीलाई निरन्तरता दिँदै आएका छन् । “रूपालीहरू बीचको एकता र रङ्गीन पर्वसँग जोडिएको होलीका आफ्नै पम्परागत मान्यता छन्”, ठकुराठीले भन्नुभयो, “हाम्रो नयाँ पुस्ताले पनि यसलाई आत्मसात् गर्दै अघि बढेको छ ।”

निर्वाचनको बेला भएर पनि रूपाली होलीको रौनक घटेको छ । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीको उल्लास बढिरहेका बेला रूपाली होलीको ४८ पुस्ताभन्दा बढी लामो इतिहास सुदूरपश्चिममा रहेको छ ।

“सुदूरपश्चिममा मात्रै समुदायपिच्छे होली खेल्ने र मनाउने धेरै तौरतरिकाहरू छन्”, उहाँले भन्नुभयो, “रूपाली होलीको आफ्नो छुट्टै विशिष्ट पहिचान र संस्कृति छ ।”

रूपाली होली समिति निम्बुखेडाका अध्यक्ष वासुदेव भट्टले परम्परागत शैलीमा खेलिने होली रूपाली समुदायका हरेक उमेर समूहका मानसिक गोलबद्ध भएर देउडा शैलीमा खेल्ने गरेको बताउनुभयो ।

“मुलुक निर्वाचनमय भए पनि रूपाली समुदाय पनि होलीमय छ,” उहाँले भन्नुभयो, “हरेक उमेर समूहका युवायुवती, महिला पुरुष तथा बालबालिका होली धुमाधामका साथ मनाउँदैछन् ।”

रूपाली होली धार्मिक मान्यतालाई कायम राख्दै आफ्नै पहाडिया शैलीमा परम्परागत भाकामा देउडा गाएर होली मनाइन्छ । रूपाल होली समितिले वर्ष एकादशमीका दिनदेखि प्रसिद्ध बैजनाथ मन्दिरबाट सुरु गरिने होली पूर्णिमाका दिन सोही मन्दिरमा गएर समापन गर्ने चलन छ ।

“निम्बुखेडाको शिव गौरा मन्दिर र गोवरियामा बैजनाथ मन्दिरबाट एकसाथ होली सुरु भएको छ”, भट्टले भन्नुभयो, “जागिर र अन्य सिलसिलामा विभिन्न ठाउँमा छरिएर रहेका रूपाली होली पर्वमा झमघट हुने हुनाले होली पर्वलार्ई एउटा भेटघाटको पर्व पनि लिन्छौँ ।”

होली खेलेर प्राप्त रकम विभिन्न विकास निर्माण तथा धार्मिक निर्माणमा खर्च गर्ने गरिएको छ । होलीका गीतको माध्यमबाट विभिन्न धार्मिक भजन गाएर पनि रूपाली रमाइलो गर्ने गर्ने प्रचलन छ । त्यसका साथै ‘फगुवा’हरूलाई हरेक रूपालीको घरमा विशेष सम्मान दिइने गरेको छ । होलीबाट सङ्कलित रकमले मन्दिर निर्माणलगायत सामाजिक कार्यमा खर्च गरिने भट्टले जानकारी दिनुभयो ।

“जसको घरमा बिहे र सन्तान भएको उसले फगुवालाई होलीका मौकामा विशेष भोजन गराउने चलन छ”, उहाँले भन्नुभयो, “यो एउटा परम्पराको निरन्तरता पनि हो ।” डडेल्धुराको रूपालबाट विसं २०१७ देखि तराईमा बसाइँसराई गर्ने क्रम सुरु रूपाली अगुवाको भनाइ छ ।

हरेक वर्ष फागुपूर्णिमामा मनाइने होलीले आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्तव बोकेको छ । “पुस्तौँदेखिको होलीमा अहिलेका युवा पिँढीको उपस्थिति पनि उल्लेख छ”, उहाँले भन्नुभयो, “होलीलाई निरन्तरता र संरक्षणका लागि रूपाली समाज क्रियाशील छ ।”

प्रकाशित मिति : March 2, 2026 at 2:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/