जुम्लामा ९२५ जना अस्थायी मतदाता
१८ फागुन, जुम्ला । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला जुम्लामा ९२५ जना अस्थायी मतदाताको सङ्ख्या रहेको छ ।
जिल्ला अस्थायी मतदाताका यहाँका दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिनुभयो ।
जिल्लामा रहेका सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दी, सुरक्षा निकायलगायत ९२५ जनाले अस्थायी मतदाताअन्तर्गत प्रतिनिधिसभाको समानुपातिकतर्फको मतदान गर्न पाउने निर्वाचन अधिकारी कँडेलको भनाइ छ ।
निर्वाचनको लागि मतदान केन्द्रमा खटिएका कर्मचारीले आफू खटिएको ठाउँमा नै मतदान गर्न पाउने व्यवस्था गरेको छ । अन्यको मतदाताको हकमा भने सदरमुकाम खलङ्गा बजारमा रहेको खाद्य तथा व्यापार कम्पनीको शाखा कार्यालय जुम्लाको प्राङ्गणमा र जिल्ला कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय जुम्ला निर्वाचन अधिकारी कँडेलले बताउनुभयो ।
निर्वाचनका लागि जिल्लामा कूल मतदाता सङ्ख्या पुरुष र महिला गरी जम्मा ७१ हजार ७३९ जना रहेका छन् । छ सय ५४ जना कर्मचारी निर्वाचनका लागि परिचालन भएका छन् ।
जिल्लाभर ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लाको एकमात्र निर्वाचन क्षेत्र रहेकामा नौ वटा राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार गरी १० जना उम्मेदवारले निर्वाचनमा माग लिएका छन् ।
मदिरा बिक्रीवितरणमा रोक
जुम्लामा जिल्ला प्रशासन कार्यालयले यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अवधिभर यहाँका आठवटै स्थानीय तहमा पूर्ण रूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण वातारण, स्वच्छ, निष्पक्ष र मर्यादित तरिकाले सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्रीवितरणका साथै सेवनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।
प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम मतपरिमाण घोषणा नभएसम्म जिल्लाभर सबै प्रकारका मादक पदार्थहरू बिक्रीवितरण र सेवन गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
प्रशासनको उक्त कार्यलाई अवज्ञा गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।
प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १३:४७










