३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

आईसीसी पुरुष टी२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

२५ माघ, काठमाडौं । कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ। ‘क्रिकेट फिएस्टा’ नाम दिइएको यो विशेष कार्यक्रम काठमाडौंको टुँडिखेल र तीनकुनेमा आयोजना गर्ने भएको हो।

कोकाकोलाकाअनुसार, निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस कार्यक्रममा विशाल स्क्रिनमार्फत प्रत्यक्ष क्रिकेट खेलको रोमाञ्चक अनुभव लिन सकिनेछ। क्रिकेटप्रेमी दर्शकहरूका लागि खेलको स्क्रिनिङसँगै विविध मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिहरूको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आयोजनाअनुसार टुँडिखेलमा फेब्रुअरी ८ र १२, २०२६ मा तथा तीनकुनेमा पनि सोही अवधिमा खेल प्रदर्शन गरिनेछ। कार्यक्रम स्थलको गेट दिउँसो १ः०० बजे खुल्नेछ भने खेलको प्रत्यक्ष प्रसारण दिउँसो ३ः०० बजेदेखि सुरु हुनेछ।

खेल सुरु हुनुअघि चर्चित कलाकार महेश काफ्ले र अस्मिता अधिकारीको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहनेछ, जसले खेलअघि नै उत्सवमय वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यो कार्यक्रम केवल क्रिकेट हेर्ने अवसर मात्र नभई परिवार तथा साथीहरूसँग रमाइलो गर्दै खेलको उत्साह मनाउने प्लेटफर्मका रूपमा विकास गरिएको हो।

कार्यक्रम स्थलभरि कोका–कोलाका विभिन्न ब्रान्ड गतिविधि, रमाइला खेल तथा उपहार जित्ने अवसरहरू समेत रहनेछन्। यसले दर्शकहरूलाई अन्तरक्रियात्मक र ऊर्जावान अनुभव प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

यसैगरी, कोका–कोला नेपालले क्रिकेटप्रेमीहरूका लागि आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपालका खेलहरू भिआईपी जोनबाट प्रत्यक्ष हेर्न सकिने विशेष पास जित्ने अवसर पनि उपलब्ध गराएको छ। इच्छुक सहभागीहरूले कोका–कोला नेपालको आधिकारिक सामाजिक सञ्जालमार्फत प्रतियोगितासम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : February 8, 2026 at 11:24 am