१२ माघ २०८२, सोमबार | Mon Jan 26 2026

फेक रेस्क्युमा सिआईबी अप्रेशनः पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय छवी सुधार्ने मौका

-माधवप्रसाद तिवारी

१२ माघ, काठमाडाैँ । नेपालको पर्वतारोहण र ट्रेकिङ क्षेत्र विश्व पर्यटन नक्सामा अत्यन्तै आकर्षक मानिन्छ । सगरमाथादेखि अन्नपूर्ण र लाङटाङसम्म फैलिएको हिमाली भू–भागले साहसिक पर्यटनका लागि नेपाललाई विशिष्ट बनाएको छ । तर झण्डै एक दशकदेखि यही क्षेत्र ‘फेक रेस्क्यु’ नामक संगठित धन्दाले बदनाम बदनाम छ । यस्तो पृष्ठभूमिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुरु गरेको अपरेसनले न केवल आर्थिक अपराधको पर्दाफास गरेको छ, बरु नेपालको अन्तर्राष्ट्रिय पर्यटन छवि सुधार्ने एउटा महत्वपूर्ण अवसर पनि सिर्जना गरेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर राज्यको मिलेमतोमा अमेरिकामा बेच्दा जसरी अन्तर्राष्ट्रिय छवी धुमिलएको थियो ‘फेक रेस्क्यु’ले पनि त्यस्तै गरेको थियो । संयोग नै मान्नुपर्छ डा मनोजकुमार केसी जसले  नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर बेच्नेविरूद्ध सफल अनुसन्धान गर्नुभयो उहाँकै नेतृत्वमा ‘फेक रेस्क्यु’ नामको राज्यविरूद्धको अपराध मानेर आपराधिक लाभ र ठगीमा अनुसन्धान गरी कारबाही सुरू भएको छ । यसले पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय छवी सुधार्ने एउटा महत्वपूर्ण माैका सिर्जना गरिदिएको छ ।

पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा मनोजकुमार केसी । तस्बिरः माधवप्रसाद तिवारी

पक्राउ परे तीन कम्पनीका सञ्चालक र व्यवस्थापक 

सीआईबीले नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी, अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्युका अध्यक्ष जयराम रिमाल, प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्सका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक सुभाष केसीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

यस कदमले ‘पर्यटन क्षेत्र अपराधमुक्त क्षेत्र होइन’ भन्ने स्पष्ट सन्देश दिएको छ । यसअघि यस्ता गतिविधि खुलेआम भइरहे पनि राज्य संयन्त्र कमजोर देखिएको आरोप लाग्दै आएको थियो । अब भने अनुसन्धान, पक्राउ र सार्वजनिक विवरणले राज्य गम्भीर भएको संकेत दिएको छ । किनभने सरकारले तत्कालीन सहसचिव घनश्याम उपाध्यक्षको संयोजकत्वमा एउटा समिति नै बनाएर छानविन गरेको थियो तर त्यसको प्रतिवेदन कार्यान्वयनमा खासै चासो दिइएको थिएन ।

पक्राउ परेका सञ्चालक चार दल निकटका

पक्राउ परेका व्यवसायीहरू मध्ये रिमाल एमाले निकटका हुनुहुन्छ, पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी निकटको हुनुहुन्छ भने अधिकारी तत्कालीन माओवादी र हालको नेतका निकटको हुनुहुन्छ त्यस्तै केसी नेपाली कांग्रेस निकटको हुनुहुन्छ । पक्राउ परेका व्यवसायीको राजनीतिक संलग्नता हेर्दा ‘फेक रेस्क्यु’मा पनि सर्वदलीय सहमति जस्तो देखिने रहेछ । नेपालमा सबैखालका अपराध, भ्रष्टाचार र ठगीमा राजनीतिक संरक्षण हुँदै आएको छ । र यो समाजमा एउटा भास्य बनेर स्थापित नै बनेको छ ।

प्रारम्भिक अनुसन्धानमै भेटियो ३१७ फेक रेस्क्यु

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा केसीका अनुसार माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १२४८ रेस्क्युमध्ये १७१ वटा फेक रेस्क्यु गरेको पाइएको छ । जसबाट १० करोडभन्दा बढी अमेरिकी डलर बराबरको बीमा दाबी गरिएको देखिएको छ।

त्यस्तै नेपाल चार्टर सर्भिस प्रालिले ४७१ रेस्क्युमध्ये ७५ वटा फेक रेस्क्यु गरी ८२ लाख अमेरिकी डलर माग दाबी गरेको पाइएको छ । यस्तै एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले पनि ६०१ मध्ये ७१ पर्यटकको शंकास्पद रेस्क्यु गरी ११ लाख ५३ हजार अमेरिकी डलर बराबरको दाबी गरेको पाइएको छ । यसरी कुल ३१७ फेक रेस्क्यु भएको अनुसन्धानबाट खुलेको छ ।

यो पनि पढ्नुहोस्

फेक रेस्क्यु प्रकरणः ८ ट्रेकिङ, ४ अस्पताल र ३ वटा हेलिकप्टर कम्पनीलाई कारबाही सिफारिस

टानका अध्यक्ष दाहाल र वरिष्ठ उपाध्यक्ष सुवेदी पनि ‘फेक रेस्क्यु’मा, छानविन समितिले काट्यो पत्र

‘फेक रेस्क्यु’ कार्यदलका संयोजकको आरोपितसँग साँठगाँठ ! सदस्य नै जादैनन् बैठकमा

पर्यटकको उद्धारको नाममा ठगी गर्नेको सूची तयार गर्न कार्यदल, टानका पदाधिकारीसमेत तानिदै

प्रहरीले योसँग सम्बन्धित सम्पूर्ण कागजपत्र र इमेलहरू नियन्त्रणमा लिएर सञ्चालक र व्यवस्थापकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले नियन्त्रमा लिएर अनुसन्धान गरिरहेका व्यवसायीहरू हेलिकप्टर, अस्पताल र उद्धारकार्य तीनै विषयमा जोडिएको पनि पाइएको छ । पक्राउ परेकाहरू प्रायः होटल व्यवसायमा पनि जोडिएको पाइएको छ ।

एउटा उद्धार पाँचवटाको बिल

फेक रेस्क्यु धन्दाको अनुसन्धानका क्रममा एउटै हेलिकप्टर उडानलाई फरक–फरक रेस्क्यु देखाएर बीमा दाबी गरिएको तथ्य पनि खुलेको छ । सीआईबीका अनुसार एउटै मिति, एउटै चार्टर हेलिकप्टर र एउटै म्यानिफेस्टमा चार जना विदेशी पर्यटकको उद्धार गरिएको भए पनि त्यसलाई छुट्टाछुट्टै रेस्क्यु उडान देखाई बीमा कम्पनीसमक्ष दाबी पेश गरेर भुक्तानी लिएको पाइएको छ ।

सीआईबीले प्राप्त गरेको कागजातमा एउटा घटनामा उद्धार उडान सामान्य चार्टर उडानजस्तै देखिए पनि त्यसलाई ‘रेस्क्यु फ्लाइट’का रूपमा प्रस्तुत गर्दै चार फरक–फरक इनभ्वाइस तयार पारिएको छ । ती इनभ्वाइसमार्फत कुल ३१ हजार १०० अमेरिकी डलर बराबरको बीमा दाबी गरिएको अनुसन्धानमा खुलेको छ।

त्यसमध्ये हेलिकप्टर उद्धार खर्चका नाममा ७ हजार ८ सय, ४ हजार ५ सय, ९ हजार ४ सय र ९ हजार ४ सय अमेरिकी डलर छुट्टाछुट्टै देखाइएको छ। साथै, अस्पताल खर्च शीर्षकमा ११ हजार ८ सय ९० अमेरिकी डलर समेत दाबी गरिएको पाइएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार एउटै उडानबाट उद्धार भएका व्यक्तिलाई फरक–फरक रेस्क्यु देखाएर बीमा दाबी गर्नु सामान्य प्रक्रियाविपरीत हो । यसले संगठित रूपमा बीमा ठगी गरिएको पाइएको छ । यसरी सीआईबीले यी कागजातका आधारमा यसको जरो पत्ता लगाउने प्रयास गरिरहेको छ । अहिले ६ जनामात्र पक्राउ परे पनि अनुसन्धानका क्रममा जोडिने अन्य व्यक्तपहरू पनि पक्राउ पर्नेछन ।

कसरी हुन्छ फेक रेस्क्यु ?

पर्वतारोहण र ट्रेकिङका क्रममा पर्यटक बिरामी वा दुर्घटनामा परेपछि हेलिकोप्टरमार्फत उद्धार (रेस्क्यु) गरिन्छ । यही संवेदनशील प्रक्रियालाई दुरुपयोग गर्दै केही ट्रेकिङ, रेस्क्यु र चार्टर कम्पनीहरूले ‘नक्कली बिरामी’, ‘अनावश्यक उद्धार’ वा ‘बढाइचढाइ गरिएको स्वास्थ्य अवस्था’ देखाएर बीमा कम्पनीबाट ठूलो रकम असुल्ने गरेको तथ्य सीआईबीको अनुसन्धानबाट बाहिर आएको छ ।

राष्ट्रिय प्रतिष्ठामा क्षति

फेक रेस्क्यु धन्दाले सबैभन्दा ठूलो क्षति नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा पुर्‍याएको छ । विदेशी बीमा कम्पनीहरूमा नेपाललाई ‘उच्च जोखिम र शंकास्पद दाबी हुने देश’ का रूपमा हेरिन थालिएको थियो । यसले बीमा प्रिमियम महँगो हुनु, दाबी प्रक्रियामा कडाइ हुनु र अन्ततः पर्यटक आगमनमै असर पर्ने खतरा बढाएको थियो । यस विषयमा पर्यटन व्यवसायीले लामो समयदेखि गुनासो गर्दै आएका थिए ।

केही सीमित व्यक्ति र कम्पनीको बादमासीका कारण इमान्दार गाइड, ट्रेकिङ कम्पनी र रेस्क्यु सेवाप्रदायकहरू समेत बदनाम बन्न पुगेका थिए र छन । केही व्यक्तिको लोभका कारण पूरै पर्यटन उद्योग शंकाको घेरामा पर्नु दुर्भाग्यपूर्ण अवस्था हो ।

सीआईबीको यो अपरेशन संकटलाई अवसरमा बदल्ने बिन्दु बन्नुपर्छ । यदि अनुसन्धान निष्पक्ष, पारदर्शी र निष्कर्षसम्म पुर्‍याइयो भने नेपालले आफ्नै कमजोरी स्वीकार्दै सुधारको बाटो समातेको अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश जानेछ । अब फेक रेस्क्यु नियन्त्रणका लागि स्पष्ट मापदण्ड र प्रोटोकलहरू बनाउने, दोषीलाई कडा सजाय र निर्दोषलाई संरक्षण गर्ने काम तीव्र रूपमा हुनुपर्छ ।

फेक रेस्क्यु कुनै सामान्य आर्थिक अपराध होइन यो नेपालको पर्यटन, अर्थतन्त्र र अन्तर्राष्ट्रिय छविसँग जोडिएको गम्भीर विषय हो । सीआईबीको पछिल्लो अपरेसनले ढिलो भए पनि सही दिशामा कदम चालिएको संकेत दिएको छ । अब यो अपरेसन आधा बाटोमै रोकिनु हुँदैन । निष्कर्षसम्म पुगेर दोषीलाई कारबाही र प्रणालीगत सुधार गर्न सकिएमा यही काण्ड नेपालको पर्यटन क्षेत्रलाई ‘विश्वसनीय र जिम्मेवार गन्तव्य’ का रूपमा पुनः स्थापित गर्ने आधार बन्न सक्छ । सीआईबीको यस गतिबिधिमा सूचना दिएर र खबरदारी गरेर सबैले सहयोग गर्नुपर्छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार ११:४९