राष्ट्रपति कार्यालयबाट लुटिएको हात्तीको दाह्रासहित ५ जना पक्राउ
२० जेठ, काठमाडौं । २० जेठ, काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासबाट लुटिएको हात्तीको दाह्रासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक घर भई तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ घर भएका २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई टोखा नगरपालिका–२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । राजीव महर्जनको घरको पूर्वतर्फ रहेको खाली जग्गामा गाडेर राखेको अवस्थामा हात्तीको दाह्रा दुई थान र निजको घर कोठामा ट्रमाडोल–५० लेखिएको लागुऔषध १५० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राजीव महर्जन, आयुष महर्जन र टेकप्रसाद गुरुङलाई लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा एवं पुरन बोहरा र सन्तबहादुर भुजेललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ र डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : June 3, 2026 at 4:32 pm









