आमाबारे गणेश पाण्डेको चेतनाले प्रेस चौतारीमा खैलाबैला, के होला अडियो काण्ड ?
५ पुस, काठमाडौँ । नेकपा (एमाले)को जनवर्गिय संगठन संगठन प्रेस चौतारी नेपालको विराटनगरमा भएको नियुक्ति सम्मेलनबाट अध्यक्षमा नियुक्त हुनुभएको गणेश पाण्डेको एउटा अडियो काण्डले चौतारीमा खैलाबैला मच्चिएको छ । पाण्डेले नै सुरूमा प्रविधिको दुरूपयोग भएको दाबी गरेपछि त्यसैको पछि दौडिएर यदि हो भने भन्दै चेतावनी दिएकाहरू अहिले पाण्डे स्वयंले स्वीकार गरेपछि अब के गर्ने भनेर तनावमा परेका छन ।
सुरूमा अडियो पाण्डेको हुनै सक्दैन भनेर सामाजिक सञ्जालमा प्रतिवादमा उत्रिएका चैतारीका नेताहरू यतिखेर समस्यामा परेका छन । शुक्रबार अडियोकाण्डबारे लामो बकपत्र सार्वजनिक गर्दै पाण्डेले उक्त अभिव्यक्ति आफ्नै रहेको स्वीकार गर्नुभएको छ ।

‘नैतिकता’को प्रश्न खडा गर्दै पाण्डेलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न संगठनभित्रैबाट दबाब बढिरहेको अवस्थामा पाण्डेसँग अडियोमा जोडिनुभएको राष्ट्रिय युवा संघको पूर्व सचिवालय सदस्य मन्जिब क्षेत्रीले पनि उक्त अडियो वास्तविक भएको र यसबारेमा एमालेको सबै नेतृत्वसँग कुरा गरिसकेको र जानकारी दिएको बताउनुभएको छ ।

अडियोमा संवादमा रहनुभएको पाण्डे र क्षेत्री दुबैका अनुसार भदौ २३ र २४ गतेको घटना पछिको हो । आमाबारेको कमजोर चेतना र अश्लील गालीगलौजसहितको अडियो सार्वजनिक भएलगत्तै सुरुमा एआईबाट बनाइएको दाबी गर्दै पाण्डेले कानुनी कारबाहीमा जाने चेतावनी दिनुभएको थियो ।

प्रेस चाैतारीको उपाध्यक्ष तथा महिला विभाग प्रमुख कृपा भण्डारीले पाण्डेलाई तत्काल कारवाहीको दायरामा ल्याउन अनुशासन आयोगलाई आग्रह गर्नुभएको छ । भाइरल अडियो नक्कली सावित होस् भन्दै उहाँले भन्नुभएको छ, ‘पदीय दायित्वमा बसेका व्यक्तिहरूका तुच्छ बोली र गालीगलौजहरू सोसल मिडियामा सुनिँदा, त्यो पनि आफ्नै चेलीबेटीको बेइज्जत हुनेगरी लैङ्गिक र यौनिक उत्पीडनको भाष्य प्रयोग गरेर मनपरी र छाडा शब्द बोल्नेहरूलाई अनुशासनको दायरामा ल्याउनुपर्छ ।’ अनुशासन आयोगका अध्यक्ष समिर बलामी भने सुरूमा पाण्डे निर्दोष रहेको र अडियो हैन भनेर लेखेको स्टाटस समेत हटाएर फोनिजको बैठकमा सहभागी हुन कास्कीतिर लाग्नुभएको छ।

संगठनको केन्द्रीय सदस्य तथा महिला विभाग उपप्रमुख रेणु पराजुलीले पनि पाण्डेमाथि अनुसन्धान हुनुपर्ने बताउनुभएको छ। उहाँले दोषी देखिएमा उन्मुक्ति नपाउने बताउनुभएको छ ।

‘यस संस्थाप्रति आस्था राख्ने देशभरका पत्रकारहरू, विशेष गरी दिदीबहिनीहरू र शुभेच्छुकहरूलाई विश्वस्त पार्न चाहन्छौँ कि संगठनले कुनै पनि अवस्थामा नैतिक मापदण्डमा सम्झौता गर्दैन’, पराजुलीले भन्नुभएको छ, ‘हामी विश्वास गर्छौँ कि सत्य, तथ्य र प्रमाणित निष्कर्ष सार्वजनिक भएपछि संगठनको नेतृत्वले आवश्यक र उपयुक्त संस्थागत कदम चाल्नेछ ।’
त्यस्तै, बागमती प्रदेश इञ्चार्ज प्रतिमा सिलवालले पनि घटनाको सत्यता छानविन हुनुपर्नेमा जोड दिनुभएको छ । पाण्डेले नेतृत्वमा हुनुपर्ने आधारभूत नैतिकतासमेत देखाउन नसकेको उहाँको टिप्पणी छ । सार्वजनिक अडियोमा सुनिएका शब्द पाण्डेले नै बाेलेको पाइएमा नि:शर्त पदबाट राजीनामा दिनुपर्ने उहाँको माग छ । तर अडियो स्वयंको भएको स्वीकार गरेको २४ घण्टा बित्न लाग्दा पनि चाैतारीले अहिलेसम्म कुनै ठोस कदम चालेको छैन् ।

‘प्रेस चौतारीसँग आस्था राख्ने दिदीबहिनीहरूलाई यो विश्वस्त हुन अनुरोध गर्दछु कि नैतिकताको कसीमा नअटाउने कोही व्यक्तिको हामी दास होइनौँ’, उहाँले भन्नुभएको छ, ‘यो परीक्षणमा उहाँ फेल हुनुभयो भने नैतिकताको आधारमा पनि अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ, फेरि पनि अपेक्षा चाहिँ यो छ कि अडियो उहाँले भनेजस्तै फेक पुष्टि भइदेओस् !’
यस्तै पत्रकार रूपनी जिएमले पाण्डेले अडियोको स्वीकारोक्तिपछि दिनुभएको प्रतिक्रियामा असहमति र अापत्ति जनाउनुभएको छ। उहाँले भन्नुभएको छ, ‘सभ्य समाजमा बस्ने, सार्वजनिक पहुँच र प्रभाव भएका व्यक्तिबाट यस्तो स्तरहीन, अमर्यादित र मानव संवेदनामाथि ठाडो प्रहार गर्ने भाषा प्रयोग हुनु केवल व्यक्तिगत कमजोरी मात्र होइन, सामाजिक मूल्य, नैतिकता र मर्यादामाथिको गम्भीर हमला हो । अझ त्यसलाई भावावेश, परिस्थितिजन्य तनाव वा क्षणिक आक्रोशको परिणाम भन्दै सामान्यीकरण गर्ने तपाईंको प्रयासले गल्ती स्वीकार गर्ने साहस होइन, बरु जिम्मेवारीबाट पन्छिन खोजेको स्पष्ट संकेत दिन्छ ।
आमा जस्तो पवित्र, सम्माननीय र भावनात्मक रूपमा अत्यन्तै संवेदनशील सम्बन्धलाई लक्षित गरी सार्वजनिक मञ्चमा अपशब्द प्रयोग गर्नु कुनै पनि बहानामा सही ठहरिन सक्दैन, न त त्यसलाई अभिव्यक्ति स्वतन्त्रताको आवरणभित्र लुकाउन मिल्छ । अभिव्यक्ति स्वतन्त्रता सभ्य, जिम्मेवार र मर्यादित शब्द प्रयोगसम्म सीमित हुन्छ; गाली, अपमान र घृणास्पद भाषालाई संरक्षण गर्ने हतियार होइन ।’
उहाँले पाण्डेले उल्टै धम्की दिन खोजेको भन्दै त्यसको पनि निन्दा गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘तपाईंको स्पष्टीकरणमा न त स्पष्ट आत्मआलोचना देखिन्छ, न त गल्तीप्रति इमानदार स्वीकारोक्ति, न पीडितप्रति संवेदना र क्षमायाचना । बरु शब्दहरू घुमाएर आफूलाई सही देखाउने, घटनाको गम्भीरतालाई कम आँक्ने र समाजलाई नै भ्रममा पार्ने प्रयास गरिएको छ । अझ गम्भीर कुरा त के हो भने, उक्त भिडियो सार्वजनिक भएपछि “यस्तो अभिव्यक्ति ठीक भएन” भनेर सामाजिक सञ्जालमा आफ्नो धारणा राख्ने पत्रकार तथा सचेत नागरिकहरूविरुद्ध तपाईंले कारबाहीको थ्रेड खोल्नु, कसैलाई साइबर मुद्दा हालिदिने धम्की दिनु पूर्णतः निन्दनीय र लोकतान्त्रिक मूल्यविपरीत आचरण हो ।’

प्रकाशित मिति : ५ पुष २०८२, शनिबार ११:४७












