३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह

११ मंसिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझको रूपमा नलिन निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ । आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले श्रमिकको सामाजिक सुरक्षालाई शानको रूपमा लिन अनुरोध गर्नुभयो ।

परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र समतामूलक बनाउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने बताउनुभयो । “यसको सफल कार्यान्वयनबाट नै हुनेले नहुनेलाई, धनीले गरिबलाई, निरोगीले रोगीलाई प्रणालीबद्ध रूपले सहयोग गर्ने सामाजिक ऐक्यबद्धताको सिद्धान्तमा आधारित उत्पादनमूलक समाजको निर्माण हुने रहेछ”, उहाँले भन्नुभयो ।

एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरोकारवालाबाट उठान भएका विषय सम्बोधन गर्न छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । “औपचारिक क्षेत्रको अनिवार्य आबद्धताको कार्यान्वयन, अनौपचारिक क्षेत्रका श्रमिकलाई कानुनी रूपमा गर्नुपर्ने सह–योगदानमा सङ्घीय सरकारले कति गर्ने, सरकारी संयन्त्रअन्तर्गत करारमा रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध भएको महसुस कसरी गराउनेलगायत विषय सम्बोधन हुने विश्वास दिलाउँछु”, उहाँले भन्नुभयो ।

दिन प्रतिदिन आकार बढ्दै गएको सामाजिक सुरक्षा कोषलाई राष्ट्र निर्माणमा कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा पनि गृहकार्य हुन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रत्येक श्रमिक र रोजगारदाताले जम्मा गरेको रकम सार्थक परिणाम दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : November 27, 2025 at 1:49 pm