सप्तकोशीमा यस वर्षकै उच्च बाढी, बारेजको ५६ ढोका खोलियो
१९ असोज, काठमाडौँ । सप्तकोशी नदीमा यस वर्षकै उच्च बाढी आएको छ । बाढी उच्च भएपछि ५६ वटा ढोका खोलिएको छ । अहिले सप्तकोशीमा पानीको बहाव ४ लाख ८६ हजार ५ सय २५ क्युसेक प्रतिसेकेन्ड रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
पहाडी भूभागमा परेको पानीको बाढी अझै कोशीतिर जानेक्रममा रहेकाले वाहब अझै बढ्न सक्ने अनुमान गरिएको छ । यसअघि २०८० साउन २९ गते सप्तकोशी नदीमा ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव हुँदा पनि कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको थियो ।

सप्तकोसीमा आएका ठुला बाढी
२०११ साल वैशाख १५ गते नेपाल र भारतबीच भएको कोशी योजना सम्बन्धी सम्झौता अनुसार बनेको कोशी ब्यारेजले ९ लाख क्युसेक पानीको चाप थाम्न सक्ने क्षमता रहेको छ ।
कोशी ब्यारेज पुल बने यता सबैभन्दा बढी सन् १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार २ सय क्युसेक पानी बगेको थियो । कोशीमा आएका ठुला बाढीहरू सन् १९८४ सेप्टेम्बर १७ मा ५ लाख १ हजार ७ सय ८७ क्युसेक, सन् १९६८ अगस्ट २७ मा ४ लाख १ हजार ९० क्युसेक, सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक, सन् १९८९ सेप्टेम्बर १९ मा ४ लाख ७२ हजार १ सय ९३ क्युसेक, सन् २००४ जुलाई ११ मा ३ लाख ९८ हजार ६ सय ६९ क्युसेक र २०१९ जुलाई १३ मा ३ लाख ७१ हजार १ सय १० क्युसेक र सन् २०२३ अगस्ट १४ मा ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानीको बहाव आएको थियो ।
प्रकाशित मिति : १९ आश्विन २०८२, आईतवार १०:५२












