सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिलः विधिको शासन र संविधानबादबाट बाहिर जानुहुँदैन
२७ भदौ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जाननहुने बताउनुभएको छ ।
संसद्का सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालले संयुक्त रूपमा शुक्रबार विज्ञप्ति जारी गर्दै अहिलेको संकटको निकास विधिको शासन र संविधानवादबाट बाहिर गएर खोज्न नहुने जनाउनुभएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ। यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ।’
साथै, उहाँहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १३:५१












