१९ पुष २०८२, शनिबार | Sat Jan 3 2026

आन्दोलनका कारण होटल क्षेत्रमा २५ अर्बकाे क्षति, हिल्टनलाई ८ अर्बको नोक्सान

२७ भदौ, काठमाडौं । होटल संघ नेपालले हालै सम्पन्न भएको परिवर्तनकारी आन्दोलनका क्रममा देशभरका होटल तथा आतिथ्य क्षेत्रमा करिब २५ अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। काठमाडौंको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको हानले जनाएको छ।

झण्डै दुई दर्जन होटलहरू प्रत्यक्ष प्रभावित भएका हानले जारी गरेको विज्ञप्ति उल्लेख छ । आन्दोलनका क्रममा काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा भएका तोडफोड, आगजनी, लुटपाटबाट ठूलो नोक्सानी भएको हो।

यसबाट प्रभावित सदस्य होटलहरु मर्मत संभार, पुनर्निर्माण नगरी संचालनमा आउन नसक्ने हुँदा करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजीरोटीमा समेत प्रत्यक्ष प्रभाव पर्ने र हाल संचालन अवरुद्ध भएका यी होटलहरुले व्यहोर्नु पर्ने बैंक–वित्तीय संस्था लगायतका आर्थिक दायित्व नियमित रुपमा तिर्न नसक्ने अवस्था सिर्जना भएको हानले उल्लेख गरेको छ।

हानले यो क्षतिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै यथाशीघ्र शक्तिशाली न्यायिक समितिमार्फत जाँचबुझ गर्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अपराधीहरूलाई उचित क्षतिपूर्तिसहितको दण्ड सुनिश्चित गर्न र मर्मत–पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्नुपर्छ।”

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १३:२०