८ असार २०८३, सोमबार | Mon Jun 22 2026

जल्दै गरेको घरको भिडियो राख्दै गभर्नरले लेखे: देश विदेशमा काम गरेर बनाएको घर आगो लगाइदिए

२६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको घर मंगलबार जेनजी प्रदर्शनकारीले आगो लगाइदिएका छन् । भैंसेपाटीमा रहेको उनको पाँच आना जग्गामा बनाएको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

बिहीबार गभर्नर पौडेलले आफ्नो जल्दै गरेको घरको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो घर जल्नु दुई घण्टा अघिनै घर जलेको खबर बाहिरिएको बताउनुभएको छ ।

योजना आयोगको उपाध्यक्ष हुनुअघि नै छात्रवृत्ति र देश विदेशमा काम गरेर आफूले बनाएको घरमा आजगनी भएको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

भिडियो सेयर गर्दै पौडेलले लेखेका छन्ः

यो चाहिँ मेरो भैसेपाटीको घर जल्दै गरेको भिडियो हो । मैले योजना आयोगको उपाध्यक्ष हुनु अघिनै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाच आना जग्गामा बनाएको घर हो ।

श्रीमती र मेरी ९ वर्षकि छोरीलाइ यो घर धेरै मन पर्ने भएकोले गभर्नर भएपछि पनि यहि बस्थ्यौं । गाडी पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरुको पहिलो खेपको कमेन्ट आएको थियो।

भित्र यसको बनावट सुन्दर थियो । माथिल्लो तल्लामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, बिभिन्न देशमा जादा किनेर ल्याएका कलाकृति थिए । देविदेवताका मुर्ती , भियतनामी सिल्क पेन्टिङ देखि लिएर माओत्सेतुङ सम्मका मुर्ति थिए।जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहि थियो। छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यहि थियो।

अस्ति यो घर जल्नु दुइ घन्टा अघिनै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो । मैले बुझ्दा घरमा केहि भएको थिएन । पछि भने घरभित्र मानिस गए । बा आमाको फोटो, मेरी छोरीको सानो छदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए । छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए।

राती मेरी छोरी र श्रीमती नजिकको यौटा घर गएर सुते । म परको अर्को ठाउँमा । मेरा साथिहरुलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधै चाँडै घर आउछु र कतै डिनर खाने गर्दिन ।त्यो दिन हामी सबै ” शरणार्थी” भयौँ। किताब र कपडाहरु धेरै भएकोले ढिलो सम्म नै घर जलिरह्यो। राति पनि केहि व्यक्तिले आएर बेलाबेलामा ढुँगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरुले सुनाए।

धेरै साथीहरुले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु । हिजो राति म भन्दा पनि पिडामा परेका व्यक्तिहरुको बारेमा पढेँ । त्यसैले सबैलाई सूचना होस् भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु। अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र।

नयाँ सरकार बन्दै छ। कसैलाई मैले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ। यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ।

प्रकाशित मिति : September 11, 2025 at 10:52 am