एमाले विधान महाधिवेशनको तयारी पूरा
१८ भदाै, ललितपुर । नेकपा एमालेले भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गर्न लागेको दोस्रो विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरी पार्टीका नेताहरूले महाधिवेशनलाई भव्य, शान्तिपूर्ण र ऐतिहासिक बनाउन आवश्यक सबै तयारी सम्पन्न भएको जानकारी दिए। तीन दिनसम्म चल्ने महाधिवेशनमा करिब दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरि कूल दुई हजार ३ सय ४१ जनाको सहभागीता रहने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे ।
महाधिवेशन स्थलमा प्रतिनिधिहरूको बसोबास, स्वास्थ्य सेवा, सुरक्षा, यातायात, खानपानदेखि सांस्कृतिक प्रस्तुति र जनसांस्कृतिक स्वागत कार्यक्रमसम्मका व्यवस्थापन मिलाइएको छ। विभिन्न उपसमितिहरू गठन गरी प्रत्येक जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले २० गते बिहान ११ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
यसपटक महाधिवेशनले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र आगामी कार्ययोजना पारित गर्नेछ। अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्य र एमालेको भावी राजनीतिक दिशा समेटिने छ। महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने विधान संशोधनसम्बन्धी प्रतिवेदन उपमहासचिव विष्णुप्रसाद पौडेलले पेस गर्ने कार्यक्रम छ।

तर, निर्णयमाथि पूर्ण सहमति भने देखिएको छैन। दुई उपाध्यक्ष युबराज ज्ञवाली र सुरेन्द्र पाण्डेले केही निर्णयप्रति असहमति प्रकट गरेका छन् भने स्थायी समिति सदस्य कर्ण थापाले विधान संशोधन प्रस्तावमै फरक मत राखेका छन्। यी असहमतिहरूले महाधिवेशनमा बहसलाई थप चाखलाग्दो बनाउने देखिएको छ।
पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे केन्द्रीय कमिटी बैठकमा आएका फरक मत विधान महाधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनमा गर्ने भन्नेबारे सचिवालय बैठकले टुङ्ग्याउने जानकारी दिनुभयाे ।
पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता खोसिएको नभई परित्याग गरेको विषय भएको उल्लेख गर्दै परित्याग गरेको विषयमा पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको हकमा पार्टीले गरेको निर्णय कायमै रहेको स्पष्ट पार्नुभयाे ।
प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १५:४४








