७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

स्वचालित प्रणालीले भारित औसत मूल्यका आधारमा सूचकांक गणना गर्छः नेप्से

१३ भदौ, काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्वचालित प्रणालीले भारित औसत मूल्यका आधारमा सेयर बजार परिसूचक गणना गर्ने जनाएकाे छ । भारित औसत मूल्यको आधारमा सूचकाङ्क गणना गर्ने विषयमा चासो र आलोचना बढेपछि नेप्सेले विज्ञप्ति जारी गर्दै यस्ताे स्पष्टोक्ति दिएको हो।

‘नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि ३ बजेसम्म प्रत्येक कारोबारको कारोबार मूल्यलाई सूचीकृत सेयर संख्याले गुणा गरी नेप्से सूचकांक गणना गरिन्छ’, नेप्सेले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ।

अपरान्ह ३ः०० बजेपछि भने नेप्सेको स्वचालित प्रणालीले प्रत्येक कारोबार मूल्य र कारोबार भएका शेयर संख्याबाट भारित औसत मूल्य निकालेर सोका आधारमा नेप्से सूचकांक गणना गर्ने गरेको नेप्सेले जनाएको छ ।

स्वचालित कारोबार प्रणालीले पहिलो चरणमा २ः४५ देखि ३ः०० बजेसम्म प्रत्येक कम्पनीको प्रत्येक कारोबार मूल्य र कारोबार शेयर संख्याका आधारमा भारित औसत मूल्य अर्थात अन्तिम मूल्य गणना गर्छ । स्वचालित कारोबार प्रणालीले दोस्रो चरणमा त्यसरी प्राप्त भारित औसत मूल्यका आधारमा बजार परिसूचक गणना गर्ने नेप्सेले जनाएकाे छ ।

‘नियमित सत्रको कारोबार अवधिमा सूचकाङ्क गणनामा कम्पनीको कारोबार सेयर संख्याले कुनै प्रभाव पार्दैन भने अपरान्ह ३ बजेपछि मात्र कारोबार संख्याको प्रभाव सूचकाङ्कमा देखिने गर्दछ’ नेप्सेले भनेकाे छ ।

यो विश्वव्यापी असल अभ्यासलाई नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन), २०८१“ अनुरुप नेप्से सञ्चालक समितिको निर्णय अनुसार मिति २०८१ चैत ७ गते देखि कार्यान्वयनमा ल्याइएको नेप्सेले जानकारी दिए ।

प्रकाशित मिति : August 29, 2025 at 5:13 pm