१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने, आजै शपथ लिने

११ भदौ, काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन हुनुभएको छ । उहाँ नेपाली कांग्रेसको समानुपातिक सांसद हुनुहुन्छ ।

समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकमा उहाँलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।समितिका यसअघिका सभापति पदमा कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिनुभएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो । बैठकमा समिति सदस्य खतिवडाले न्यौपानेलाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाउनुभएको थियो ।

समिति सभापति निर्वाचित न्यौपानेले आजै सभामुखसँग पद तथा गोपनियताको शपथ लिनुहुनेछ । नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएकी न्यौपाने हाल कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । यसअघि उहाँ तत्कालीन संविधानसभामा सदस्य हुनुहुन्थ्यो भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ । कांग्रेस महिला विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव पनि उहाँसँग छ ।

कांग्रेसको मङ्गलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : August 27, 2025 at 3:49 pm