मनिष झाको नाममा फैलिएको ‘कु सूचना’मा विद्यादेवी भण्डारीको सचिवालयको खण्डन
१० भदौ, काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीसँगको भेटका बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले ‘कु सूचना’ फैलाएपछि भण्डारीको सचिवालयले खण्डन गरेको छ ।
एमालेका नेता राजेश राईले भण्डारीको स्वकीय सचिव राजकुमार राईलाई उधृत गर्दै झाले आफू अनुकुल व्याख्यासहित गलत प्रचार गरेको बताउनुभएको छ ।
सहकारी ठगीका मास्टरमाइन्ड रवि लामिछानेका सन्दर्भमा सरकारले राजनीतिक पूर्वाग्रह राखेको भनेर भण्डारीले बताएको भन्दै झासँगको भेटका नाममा सञ्चार माध्यमहरूबाटै ‘कु सूचना’ भाइरल बनाइएपछि सचिवालयले त्यसको खण्डन गरेको हो ।

एमाले नेता राईले फेसबुक उल्लेख गर्नुभएको छ, ‘सम्माननीय पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)का पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाको भेटर्वार्ताको सन्दर्भ: शिष्टाचार भेटमा भएको संवादलाई आफू अनुकुलको व्याख्या सहित गलत प्रचार गरिएको पाइयो । सम्माननीयज्यूको स्वकीय सचिव राजकुमार राईका अनुसार विभिन्न राजनीतिक दलका नेताहरु, समाजका विभिन्न क्षेत्रका अगुवाहरुले उहाँसँग नियमित रुपमा भेट, संवाद र छलफल गरीरहनु भएको छ । त्यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता झाले समय मागेर भेट्न जानु भएको हो । शिष्टाचार भेटर्वार्ताका क्रममा भएका संवादलाई आफू अनुकुल व्याख्या र अतिरञ्जना गर्नु सबर्था गलत हो ।’
प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार १९:०८








